लेखनाथ : पोखरा महानगरपालिका वडा नं ३० को मोहोरियामा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बिहिबार आयोजित कार्यक्रममा स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि अब गण्डकी प्रदेश सरकार मातहतको गण्डकी प्रदेश शंक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल नामकरण गरिएको छ ।
जनस्तरबाट मुठी दानदेखि सर्वस्वदाताको सहयोगले वि सं २०६० साल फाल्गुणमा महायज्ञ गरी निर्माण भएको अस्पताललाई स्तरोन्नति गर्दै जनतालाई सहयोग पुग्ने गरी विसं २०६२ सालदेखि संचालनमा रहेको उक्त अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।
अस्पताल संचालक समितिका अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले साबिक लेखनाथ सामुदायिक लायन्स अस्पताल प्रदेश सरकारको स्वामित्वमा हस्तान्तरण भई संक्रामक तथा सरुवा रोग अस्पतालको रूपमा विकास भएकोले यसलाई थप व्यवस्थित अस्पताल बनाउन सबैको सहयोग आवश्यक रहने बताए ।
अस्पताललाई गण्डकी प्रदेश सरकारको स्वामित्वमा सञ्चालन गर्न आयोजित अस्पताल स्वामित्व हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा अस्पतालका अध्यक्ष रमानाथ पौडेल र मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सम्झौतापत्र साटासाट गरेका थिए । गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तरगत रहने गरी भएको सम्झौता पत्रमा अस्पतालको तर्फबाट अध्यक्ष रमानाथ पौडेल र सामाजिक विकास मन्त्रालयका निमित्त सचिब तेज प्रसाद काफले हस्ताक्षर गरेका छन् भने रहोवरमा स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्मा रहेका छन् ।
पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सामुदायीक अस्पताललाई प्रदेशकै पहिलो र संघिय सरकार मातहतको दोश्रो सरुवा रोग अस्पतालको रुपमा स्थापना गरेकोमा गण्डकी प्रदेश सरकारलाई र अस्पतालका संस्थापकहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
पूर्व अध्यक्ष मेजर रामप्रसाद गुरुङ्गले स्वागत गर्दै क्षेत्रको बिकासका लागि अस्पताललाई प्रादेशिक अस्पताल बनाउदा हित हुने आफूहरुले ठहर गरेको वताउदै विगतदेखिको अवस्थाको जानकारी गराएका थिए । पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले जसरी सबैको साथ र सहयोगले अस्पताल निर्माण देखि संचालनमा मुर्त रुप पाएको थियो त्यसैगरी आगामी दिनमा पनि सबैको सहयोगले व्यवस्थित अस्पताल बन्नेमा विश्वस्त रहेको बताएका थिए ।
अस्पतालका मेसु प्रकाश भटराईले जनतालाई सर्भ सुलभ तरिकाले विशेषज्ञ सेवा दिनका लागि आफूहरु लागि परेको बताए । सोही अवसरमा सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा. रामबहादुर केसीले अस्पताल संचालनको कार्यविधी र भावी योजनका वारेमा जानकारी गराएका थिए ।
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, विकास समितिका सभापति दिपक कोईराल, गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्मा, पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी ,जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादरु क्षेत्री, प्रदेशका स्वास्थ्य निर्देशनालयका कर्मचारीहरु, लायन्सका प्रतिनिधिहरु, अस्पताल संचालक समितिका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु लगायतको उपस्थितिमा स्वामित्व हस्तान्तरण गरिएको थियो ।
अस्पतालको आकस्मिक साधारण सभाले प्रादेशिक सरुवा रोग नियन्त्रण अस्पताल बनाउनका लागि प्रस्ताव अनुमोदन गरी थप प्रक्रियालाई अगाडि बढाउनका लागि कार्यसमितिलाई अधिकार प्रत्यायोजन गरे बमोजिम प्रक्रिया अगाडि बढेको थियो । अस्पताल संचालक समितिका सचिव कृष्ण तिवारीले कार्यक्रम संचालन गरेका थिए ।