काठमाडौं / प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि वार्तामा बस्दैछन्।
बिहीबार बिहान ११ बजेपछि अध्यक्षद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने कार्यक्रम तय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिए।
पार्टीमा बढेको विवादको विषयमा ओली र प्रचण्डबीच लगातार छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन। १० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।
प्रचण्डसँगको सबैजसो वार्तामा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्याउने गरेका छन्। उनीहरुबीच बुधबार पनि अढाई घण्टा छलफल भएको थियो। हिजोको छलफलमा पनि ओलीले पुरानै कुरा दोहोर्याएका थिए।
बुधबारको छलफलमा ओलीले पार्टीको महाधिवेशन सकेसम्म चाँडै गर्न पनि आग्रह गरेका छन्।