आज देशैभर भानुजयन्ती मनाइँदै

आज देशैभर भानुजयन्ती मनाइँदै

काठमाडौं : आज नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती मनाइँदै छ ।

भानुजयन्तीमा राजधानी काठमाडौ लगायत मुलुकका विभिन्न स्थानमा प्रभात फेरीका साथै साहित्यिक कार्यक्रमको आयोजना हुने गथ्र्यो । तर यस पटक भने कोरोना भाइरस संक्रमणको कारण त्यस्ता कार्यक्रम गर्ने अवस्था छैन ।

आदिकवि भानुभक्त आचार्यले संस्कृतका आदिकवि वाल्मीकिले रचना गरेको विश्वको प्रथम महाकाव्य रामायणलाई नेपाली सरल भाषामा अनुवाद गरेका थिए । युवा कवि मोतीराम भट्टको प्रयासमा भानुभक्तीय रामायण प्रकाशित भएपछि यो ग्रन्थ घरघरमा भाका हालेर गाउन थालियो र नेपाली भाषा काव्य रचनाको माध्यम बन्यो । नेपालीमाझ लोकप्रिय बन्यो । यो भाषा नेपाली राष्ट्रिय एकताको सूत्र बन्यो ।

भानुभक्त आचार्य तनहुँ जिल्लाको चुँदी, रम्घामा वि सं १८ सय ७१ साल असार २९ गते पिता धनञ्य आचार्य र आमा धर्मावतीदेवीका पुत्रका रुपमा जन्मेका थिए ।

बाल्यकालमा आफ्ना हजुरबुवा श्रीकृष्ण आचार्यबाट संस्कृत भाषा र साहित्यको ज्ञान पाएका उनले एक जना घाँसीको प्रेरणा पाएर नेपाली भाषामा रामायण अनुवादको थालनी गरेका थिए । उनले आफनो जीवनकालमा रामायणका साथै बधुशिक्षा,प्रश्नोत्तरी,भक्तमाला लगायतका कृतिको रचना गरेका थिए । उनका यी कृतिको प्रभाव नेपालभित्र मात्र होइन जहाँ जहाँ नेपाली भाषी बसेका छन् त्यहाँ पनि पुगेको छ ।

नेपाल र नेपाल बाहिर बस्ने सबै नेपाली भाषीले उत्तिकै श्रद्धापूर्वक भानुभक्तलाई सम्झिएका छन् । भारतको सिक्किम, दार्जिलिङ, असम, देहरादुनका साथै प्रवासका अन्य स्थानमा भानुभक्तको सम्झना गरिँदैछ ।

सम्बन्धित खवर