अनुगमनको भत्ताकाटेर कृषिमा लगानी

अनुगमनको भत्ताकाटेर कृषिमा लगानी

राँझा, बाँकेको खजुरा गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने भएको छ । गाउँपालिकाको सातौँ गाउँसभामा वडा नं २ का अध्यक्ष देवीलाल खनालले अनुगमनको भत्ता कटौती गर्न राखेको प्रस्ताव सभाबाट पारित भई उक्त रकम कृषिमा लगानी गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले अगाडि सारेको कृषिबाटै आर्थिक समृद्धिको अभियानलाई सहयोगी हुनेछ । अब रु पाँच लाखसम्मका योजनाको अनुगमन वडाध्यक्षको संयोजकत्वमा गरिने भएको छ ।

यहाँको वडा नं २ र ३ मा व्यावसायिकरूपमा तरकारी खेती हुँदै आएको छ । गाउँपालिकाले अनुगमनको भत्ता कटौती गरी कृषिमा लगानी गर्ने गरेको निर्णय कृषकको पक्षमा रहेको वडा नं २ निवासी अगुवा कृषक लालबहादुर खत्रीले बताउनुभयो ।

गाउँपालिकाले किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था गर्दै उत्पादित कृषि उपजलाई स्थायी बजारीकरणको व्यवस्था गर्न सके गाउँपालिका कृषिमा आत्मनिर्भर बन्ने कृषक खत्रीको भनाइ छ ।

गाउँपालिका अध्यक्ष कक्षपतिले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा थप नयाँ कार्यक्रमसहित बजेटमा प्राथमिकता दिइने बताउनुभयो । गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को बजेट संशोधनसहित पारित भएको छ । गत असार १० गते उपप्रमुख एकमाया विकले बजेट अधिवेशन तथा सातौँ गाउँसभामा प्रस्तुत गरेको रु ७६ करोड ३६ लाख ७३ हजार ४८७ बजेट सभाले पारित गरेको हो ।

गाउँपालिका अध्यक्ष कक्षपतिले गाउँपालिकामा निर्वाचनको बेला मतदातासामु गरिएका १०१ बुँदे घोषणामध्ये ६५ बुँदा पूरा भएको र अन्य कार्यान्वयनको दिशामा रहेको बताउनुभयो । चालू आर्थिक वर्षमा कोरोना महामारीका कारण धेरै काम रोकिएको उहाँको भनाइ थियो । “कोरोना महामारी सङ्क्रमण रोकथामका लागि चार महिना व्यतित भयो, त्यसैले कयौँ योजना पूरा हुन पाएका छैनन्”, अध्यक्ष कक्षपतिले भन्नुभयो ।

सम्बन्धित खवर