नेपालमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु , मृतकको संख्या ३८ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु , मृतकको संख्या ३८ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार काठमाडौंमा थप तीन जनाको मृत्यु भएको हो। योसँगै मृतकको संख्या ३८ पुगेको छ।

गौतमका अनुसार दुई जनाको ललितपुरस्थित पाटन अस्पताल र एक जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौं महानगरपालिका–१० शंखमुल बस्ने ६० वर्षीय पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुष र सिन्धुपाल्चोक घर भएका एक ४५ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको हो।

शंखमुल बस्ने ६० वर्षीय पुरुषको शनिबार (असार २६ गते) निधन भएको हो। उनी फोक्सोका रोगी भएको प्रवक्ता गौतमले जानकारी दिए। उनी मिर्गौला रोगका कारण असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए। उनको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा असार १७ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

सँगै सिन्धुपाल्चोक जिल्ला पाँचखोरी–६ घर भएका ४५ वर्षीय अर्का पुरुषको कोरोनाकै कारण निधन भएको छ। असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पतालमा भर्ना भएको उनको  शुक्रबार (असार २५ गते) निधन भएको हो। उनमा आसार २२ गते कोरोना पुष्टि भएको थियो।

त्यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको सिनामंगलस्थित केएमसी अस्पतालमा असार २५ गते निधन भएको छ। उनी मिर्गौला रोगी भएको प्रवक्ता गौतमले जानकारी दिए।  असार २१ गते स्वाबको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ।  अहिले क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन्। आइसोलेसन आठ हजार दुई सय ३९ जनाको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा चार सय ३१ जनाले कोरोना जितेका छन्। कोरोना जित्नेको कुल संख्या आठ हजार चार सय ४२ रहेको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना जित्नेको संख्या ५० प्रतिशत बढी पुगेको छ।

सम्बन्धित खवर