म्याग्दीमा १२ जनाको शव भेटियो, २३ अझै सम्पर्कविहीन

म्याग्दीमा १२ जनाको शव भेटियो, २३ अझै सम्पर्कविहीन

राकेश शर्मा

म्याग्दी : लगातारको वर्षापछि गएको बाढी पहिरोको कारण हराइरहेकामध्ये म्याग्दीमा शनिबार बिहानसम्म १२ जनाको शव भेटिएको छ । म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरणजँग कुँवरका अनुसार हराइरहेकामध्ये २३ जना अझै सम्पर्कमा आएका छैनन् ।

जिल्लाको धवलागिरी गाउँपालिका ६ मराङमा १ बालकसहित ९ जनाको शव भेटिएको छ । उनका अनुसार मराङमा एक सुत्केरी महिलासहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने भएको छ । ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय युवाहरुले ८ जनाको शव निकालेको र एक जना बालकको शव देखिए पनि निकाल्न नसकेको जानकारी आएको कुँवरले बताए ।

प्रहरीको टोली मराङको घटनास्थलमा अझै पुग्न सकेको छैन । मालिका गाउँपालिका ७ बिममा भने नेपाल प्रहरी र नेपाली सेना सहितको ५० जना सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार बेपत्ताको खोजी कार्य सुरु गरिएको छ । बेपत्ता हुनेहरुमा धवलागिरी ६ मराङका १४ जना र मालिका गाउँपालिका ७ बिमका ९ जना छन् ।

धवलागिरी गाउँपालिका ७ ताकमका पहिरोमा परी ज्यान गुमाएका २ र रघुगंगा गाउँपालिकाको डाडाखानीमा खोलाले बगाएको १ जनाको शव शुक्रबार नै फेला परेको थियो ।

शुक्रबार बेपत्ताको उद्धारका लागि पृतनापति गोकुल भण्डारीसहित पोखराबाट हेलिकोप्टर पुगे पनि प्रतिकूल मौसमका कारण अवतरण गर्न नसकी फर्केको थियो

त्यस्तै जिल्लाको रघुगंगा गाउँपालिका– ३ पिप्ले र बेनपा ९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदिले बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बन्द भएको छ । योसँगै बेनी जोमसोम सिधा सवारी आगमन पूर्ण रुपमा बन्द भएको छ । पुल नजिकैको ३० घर परिवारलाई रघुगंगा गाउँपालिकाले नजिकै रहेको राम मन्दिरमा राखिएको छ ।

शनिबार बिहानदेखि नै सम्पर्कविहीनका खोजी र उद्धार भइरहेको छ ।

सम्बन्धित खवर