आत्महत्याका भिडियो फेसबुकमा सेयर गर्नु’भो? कारवाहीमा परिएला

आत्महत्याका भिडियो फेसबुकमा सेयर गर्नु’भो? कारवाहीमा परिएला

काठमाडौं : आत्महत्या गरिएको भिडियो फेसबुकसहितका सामाजिक सञ्जालमा सेयर गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ।

आत्महत्याका भिडियोहरू फेसबुकसहितका सामाजिक सञ्‍जालमा अपलोड गर्ने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय कारवाही थाल्ने जनाएको हो।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गरी सार्वजनिक नैतिकता एवम् शिष्टाचारविरुद्ध, समाजमा घृणा फैलाउने तथा मानसिक पीडामा रहेका व्यक्तिलाई आत्महत्या दुरुत्साहन गर्ने भएकोले त्यस्तो गतिविधि गर्नेमाथि कारवाही अघि बढाउने जनाएको हो।

समयमै सूचना प्राप्त भएको अवस्थामा यस्ता प्रकृतिका घटना कतिपय घटनामा सम्बन्धित सामाजिक सञ्जाल लगायत अन्य व्यक्ति एवम निकायसँग सहयोगमा त्यस्ता व्यक्तिहरुको उद्बार गर्न सकिने पनि साइबर ब्यूरोले जनाएको छ।

‘यदि त्यस्तो गर्न खोजेको अवस्थामा नागरिकसँगको समेत समन्वयमा उनीहरुको जीवन रक्षा गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ,’ विश्व्यापी कोरोना भाइरसका कारण नेपालसमेत आक्रान्त भइरहेका बेला मानसिक तनावसहित कारणबाट आत्महत्याका घटना बढ्दै गइरहेको सन्दर्भमा आत्महत्या गर्ने व्यक्तिले फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत मृत्युकालीन अवस्थाको लाइभ गर्दै आत्महत्या गरेको सार्वजनिक भइरहेका छन्। यस्ता गतिविधिका भिडियो कसैले पनि सेयर गर्ने, प्रतिक्रिया जनाउने र अपलोड गर्ने गरेको पाइएमा कानुन अनुसार कारवाही हुनेछ।’

सम्बन्धित खवर