जनतासंग गरिएका बाचा नभुलौं

जनतासंग गरिएका बाचा नभुलौं

कृष्ण बहादुर केसी

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले चुनावी मोर्चा बनाई सूर्यलाई चुनावी चिन्ह बनाई निर्वाचनमा गएको र निर्वाचन पछाडि पार्टी एकीकरण गर्ने सहमति गरे । त्यो चुनावमा जनताले नेपाल कम्युनिष्ट पार्टीलाई किन मतदान गरे ? यस विषयमा चर्चा गर्न आवश्यक छ ।

चुनावमार्फत जनताले स्थिर सरकार, बलियो राष्ट्रियता, भ्रष्टाचार नियन्त्रण, शान्ति, सुरक्षा र सुशासन कायम, सबल, मजबुत अर्थतन्त्र र उत्पादन र रोजगारी वृद्धि चाहेका थिए । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनबाट सुशील कोइरालाको नेतृत्वमा गठित सरकारले २०७२ साल असोज २ गते नेपाली जनतालाई दिएको संविधानले नेपालका सबै राजनीतिक आन्दोलनको अन्त्य गरेको र शान्ति, समृद्धि काममाका साथै विकसित र समुन्नत बन्ने नेपालीको चाहनालाई सुनिश्चित गरेको थियो ।

जनताको चाहना पूरा गर्न स्थिर सरकार बिना सम्भव थिएन । त्यसैले कम्युनिष्टको संयुक्त मोर्चालाई जनता समक्ष आफ्नो घोषणा पत्रमार्फत प्रतिबद्ध गरेका एजेण्डालाई सर्मथन जनाउँदै कम्युनिष्ट पार्टीलाई मतदान गरेका हुन् । कम्युनिष्ट पार्टीको आन्तरिक विवादका कारण जनताको लामो बलिदान र संर्घषबाट प्राप्त व्यवस्थाप्रति नै जनताको अविश्वास र वितृष्णा बढेको छ ।

कोरोनाका कारण स्वदेश र विदेशमा रहेका लाखौंको रोजगारी गुमेको छ । शान्ति सुरक्षाको आभाष जनताले कतै पाउन सकेका छैनन् । कालोबजारी, भ्रष्टाचारले सीमा नाघ्नुको साथै प्रधानमन्त्री निकट मन्त्री आफन्तहरू मुछिएका छन् । विकास निर्माण ठप्प छ ।

नेपालको ईतिहांँसमै छिमेकीसंगको सम्बन्ध विग्रिनुको साथै खुल्लेआम विदेशी हस्तक्षेप बढेको र पार्टी भित्रको अन्तरबिरोधको कारण आफू असुरक्षित भएपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत सरकार लागेको अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री स्वयं नै गैरजिम्मेवार र पदीय मर्यादाको ख्यालै नगरिक यस्तो भन्दै हिंडनुभएको छ ।

कम्युनिष्ट पार्टीको आन्तरिक विवाद मिलाउन ईतिहांसमै पहिलो पटक चिनियाँ हस्तक्षेप बढनुका साथै कुटनीतिक मर्यादा समेत भुलेर चिनिया राजदूतले प्रधानमन्त्री निवासदेखि कम्युनिष्ट पार्टीका नेताको निवास निवासमा पुगि प्रलोभन र दवाव दिंदै आउनुभएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू तपाइँ नेपालको प्रधानमन्त्री हो । नेपाली जनताले निर्वाचनमा जनताका समक्ष तपाईंको पार्टीले कबोल गरेका वाचालाई विश्वास गरेर मत दिएका थिए । नेपाली जनताले कुनै भारतीय वा चिनियाँलाई भोट दिएका होईनन् । हेक्का राख्नु होला, सत्तामा पुर्याउने जनाले सडकमा ल्याउन पनि सक्छन् । जय नेपाल ।

(लेखक केसी नेपाली कांग्रेस कास्कीका सभापति हुन् ।)

सम्बन्धित खवर