लेटाङको बजेट ६५ करोड, सम्मान सहितका कार्यक्रम गर्दै सम्मपन्न

लेटाङको बजेट ६५ करोड, सम्मान सहितका कार्यक्रम गर्दै सम्मपन्न

डम्बर सिन्चिउरी, लेटाङ

मोरङको लेटाङ नगरपालिकाको सातौँ नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगरसभाले ६५ करोड १८ लाख ४ हजार २ सय ७८ रुपैँया बराबरको बजेट तथा कार्यक्रम पास गरेको छ ।

सभाले नगर उपप्रमुख कृष्ण कुमारी निरौलाद्वारा प्रस्तुत ६५ करोड १८ लाख ४ हजार २ सय ७८ रुपैंया बराबरको विनियोजित आर्थिक प्रतिवेदन पारित गरेको हो । आज पारित कुल विनियोजित बजेट मध्ये चालू तर्फ ३७ करोड ७५ लाख ९८ हजार रहेको छ । पुंजिगत तर्फ २७ करोड ४२ लाख ६ हजार २ सय ७८ रुपैयाँ रहेको छ । विनियोजित बजेट मध्ये ५७.९३ प्रतिशत चालू तर्फ रहेको छ भने, ४२.०७ प्रतिशत पुंजिगत तर्फ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विनियोजित कुल बजेट मध्ये पुर्वाधार विकास तर्फ ४०.३५ प्रतिशत, सामाजिक विकास तर्फ ३५.३९ प्रतिशत र आर्थिक विकास तर्फ ५.२१ प्रतिशत खर्च गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैगरी विनियोजित बजेटको ५.६७ प्रतिशत शुसान तथा संस्थागत विकास तर्फ गरिने छ । साथै, कार्यालय सञ्चलन तथा प्रशासनिक खर्च तर्फ कुल बजेटको १३.३८ प्रतिशत खर्च गरिने छ ।

सभामा प्रतिवेदन पेश गर्दै उपप्रमुख निरौलाले विनियोजित बजेटको अनुमानित श्रोत मध्ये संघीय सरकारबाट ११ करोड ६३ लाख, राजस्व बाँडफाँडबाट ८ करोड ८५ लाख २७ हजार ७२ रपैँया र ससर्त अनुदानबाट १८ करोड ५९ लाख प्राप्त हुने उल्लेख छ ।

यसै गरी संघीय सरकारको समपुरक अनुदान १ करोड १२ लाख, संघीय सरकार विशेष अनुदान १ करोड ८० लाख, प्रदेशको समपुरक अनुदान १ करोड, समानिकरण अनुदान ७१ लाख ९१ हजार प्राप्त हुने छ । यस्तै प्रदेशको राजस्व बाँडफाँडबाट ६५ लाख ५० हजार, ससर्त अनुदान १ लाख, सडक बोर्ड सहकार्य बाट ५० लाख, आन्तरिक राजस्वबाट ८ करोड ७६ लाख ८१ हजार ९ सय २८ रुपैँया प्राप्त हुने अनुमान गरिएको छ ।

साथै गत वर्षको नगद मौजाद १० करोड ३ लाख ५४ हजार २ सय ७८ रुपैँया र नगद सहभागिताबाट १ करोड ५० लाख प्राप्त हुने समेत प्रतिवेदनमा बजेटको अनुमानित श्रोत उल्लेख गरिएको छ ।

सभाले लेटाङ्ग लेटाङको प्रतिनिधित्व गर्दै महिला फुटबल खेलमा राष्ट्रिय एवं अन्तराष्ट्रिय जगतमा लेटाङ्गको नाम रोशन गर्ने महिला खेलाडिद्वय लेटाङ्ग ६ की मनमाया लिम्बू र लेटाङ्ग ९ जाँते कि ईन्दिरा राईलाई नगद रु ५० हजार र कदर पत्रद्वारा सम्मान गरेको थियो ।

सभामा नगरपालिकामा कार्यरत कर्मचारी मध्ये यस वर्षकै उत्कृष्ठ ठहरिनुभएका मध्ये दुई जना कर्मचारीलाई सम्मान समेत गरीएको थियो । सम्मान पाउने कर्मचारीहरुमा वडा नम्बर २ का वडा सचिव सूर्य बहादुर महतरा र नगरपालिकाकी सहायक कर्मचारी विनिता निरौलालाई सम्मान गरिएको हो । उनिहरुलाई नगद रु १० हजारका साथै कदर पत्रद्वारा सम्मान गरियो ।

नगरप्रमुख शंखर राईको अध्यक्षता सम्पन्न नगर सभामा स्थानिय विभिन्न राजनितिक दल एवं संघसंस्थाका प्रतिनिधिहरले सभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

विगतमा निकै सकसका साथ सम्पन्न भएका नगर सभा मध्ये सातौँ नगरसभा भने निकै सौहाद्र पुर्ण वातावरणमा सम्पन्न भएको सहभागीहरुले बताए । सभा लेटाङ्ग ४ स्थित जनसेवा सामुदायिक वनको नव निर्मित सभाहलमा सम्पन्न भएको थियो । नगरसभा यहि असार १० गते सभामा प्रस्तुत नीति तथा कार्यक्रमको आधारमा तयार गरिएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजित वार्षिक बजेट सर्वसम्मत पारित गर्दै सम्पन्न गरिएको थियो ।

यसअघि दोस्रो संविधानसभा सदस्य तथा नेपाली कांग्रेस मोरङका सभापती डिक बहादुर लिम्बूले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

 

 

सम्बन्धित खवर