सन्तोष बस्याल
पोखरा : श्रीया गजुरेल काठमाडौंको स्थाई बासिन्दा हुन् । उनी विगत १२ वर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएकी छिन् । जन्मथलो सम्झेर ४० दिनका लागि नेपाल आएकी श्रीयालाई लकडाउन लाग्यो । फर्किन पाइनन् । मिस नेपाल नर्थ अमेरिकाको विजेता समेत रहेकी श्रीयाले लकडाउनका समयमा विपन्न परिवारको दुख देखि सहिनन् । सहयोग गर्ने भावना जागेर आयो । चितवन मामा घरमा थिइन् । फेसबुकमार्फत एउटा क्याम्पेनिङ गरिन् । मनकारी साथीभाइहरुको सहयोग मिल्यो । त्यसपछि राहत वितरण कार्यमा जुटिन् ।
कुशल तारा उनको मम्मी र बाबाको नाम । सोही नाममा अर्गनाइजेशन स्थापना गर्ने इच्छा जाग्यो । दर्ता चाहिँ भएको छैन । कुशल तारा अर्गनाइजेशन मार्फत विपन्न परिवारका गाउँगाउँमा पुगेर सहयोग कार्यमा उनी जुटिन् । नेपालमा लकडाउन भएको तीन महिना अधिक भएको छ । यो समय धेरै जसो श्रीयाले विपन्न परिवारसँगै बिताएकी छिन् ।
सहयोगको थालनी उनले चितवनको बोटे गाउँबाट गरिन् । बोटे गाउँ जहाँका विपन्न परिवारको अवस्था गम्भिर थियो । सरकारी राहत पुगेको थिएन । उनीहरु के खाने? के लाउने? अवस्थामा थिए । अर्काको ज्यालामजदुरी गरेर खाने बोटे परिवारको अवस्था नाजुक थियो । श्रीयाले खबर पाइन् । तत्काल राहत लिएर बोटे गाउँ पुगिन् र ५२ परिवारलाई खाद्यन्न उपलब्ध गराइन् । यस्तै उनले चेपाङ बस्तीका ८४ परिवारलाई समेत सहयोग गरेकी छिन् ।
श्रीयालाई नेपालका बालबालिकाहरुलाई सहयोग गर्ने पहिले देखिको इच्छा थियो । नेपालमा ४० दिनको बसाईमा बालिबालिका र विद्यालयहरुमा सहयोग गर्छु भन्ने सोचेकी थिइन् । कोरोना महामारीले विश्वनै आक्रन्त बन्यो । नेपाल समेत यसबाट अछुतो रहेन । एकाएक विपन्न परिवार जसको रोजीरोटी गुमेको छ, उनीहरुमा अप्ठेरो स्थिति सिर्जना भयो । श्रीयाको मन थामिएन । त्यसपछि नेपालका केही जिल्लामा पुगेर राहत वितरण कार्यमा जुट्नि । यसमा उनलाई अमेरिकामा बसोबास गरेका नेपाली दाजुभाईदिदिबहिनीहरुले समेत साथ दिएका छन् ।
अमेरिका सपनाको देश । त्यहाँ गएपछि खासगरी धेरैजसो हराउँछन् । माटो बिर्सिन्छन् । आफ्नै सुखसयलमा रमाउने बानी पर्छ । तर श्रीया उनीहरु मध्ये पर्दिनन् । पढाईको शिलशिलामा अमेरिका पुगेकी श्रेया आइटी कम्पनीमा आबद्ध छिन् । नेपालको माया उनलाई बेलाबेलामा लागिरहन्छ । र आफ्नै देश फर्किन्छन् ।
श्रीयाले पोखराका दृष्टिविहिन कलाकारहरुलाई समेत सहयोग गरेकी छिन् । पोखराका १८ जना दृष्टिविहिनलाई नगद ३ हजार सहित खाद्यन्न समेत उपलब्ध गराइन् । खाद्यन्नमा प्रत्येकलाई २५ केजी चामल, २ केजी दाल, १ केजी सोयाबिन, २ लिटर तेल, २ केजी चिउरा र १ पोका नुन वितरण गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको समन्वयमा उक्त राहत वितरण गरियो । प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गुरुङले अमेरिकामा बसोबास गर्दै आएकी श्रीयाको कामलाई प्रशंसा गर्दै सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
उसो त प्रतिष्ठानले राहत वितरण कार्यक्रममा अबदेखि नगर्ने भनेर औपचारिक रुपमा घोषणा गरेको थियो । तर महिला सचिव मञ्जु विक मार्फत बारम्बार आग्रह आएपछि आफुहरु तयार भएको अध्यक्ष गुरुङले बताए ।
साइमन पार्टी प्यालेसमा बुधबार सामाजिक दुरी कायम गर्दै भएको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद राजीव पहारीले दृष्टिविहिन दाजुभाईदिदिबहिनीहरुको आँखाको ज्योती गुमेता पनि मनको ज्योती नगुमेको उल्लेख गरे । जीवनमा असफल भन्ने कुरै नभएको बताउँदै उनले समाजका लागि सपाङ्ग भन्दा अपाङ्गहरुले उदाहरणीय कार्य गरेको बताए । उनले भने,‘दृष्टिविहिनमा पनि उडी छुनु चन्द्र एक जस्तो मनोभावना हुन आवश्यक छ । आँट र सासले कोरोना भाइरसबाट परेको समस्या टर्ने विश्वास गरिनुपर्छ ।’
श्रीयाको कामको उच्च कदर गर्दै सांसद पहारीले नहुनेलाई हुनेबाट सहयोग मिल्नुपर्ने बताए । अध्यक्ष सुरेन्द्र गुरुङको नेतृत्वको लोकदोहोरी प्रतिष्ठानले उदाहरणीय काम गरेको उनको भनाई थियो ।
प्रतिष्ठानका केन्द्रिय सचिव जिवन दाहालले अन्तर आत्माको दृष्टि भएकाहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । ७ वटा प्रदेशमा गण्डकी प्रदेशले नाक राख्ने काम गरेको उनले उल्लेख गरे । आफु पनि गण्डकी प्रदेशकै कलाकार भएकाले प्रतिष्ठान प्रदेशको कामको प्रशंसा उनले गरे । प्रतिष्ठानले केन्द्रिय कमिटिमा निर्धक्क बोल्न सक्ने वातावरण तय गरेको उनको भनाई थियो । धन र मन समिश्रण भए मात्र सहयोगको भावना जाग्ने बताउँदै श्रीया धनसँगै मनको समेत धनी भएको उनले बताए । प्रतिष्ठान केन्द्रले कोभिड १९ राहत संकलन व्यवस्थापन समिति गठन गरी आपतमा परेका कलाकारलाई सहयोग गरिरहेको उनले जानकारी गराए ।
श्रीया गजुरेललाई सरकारी राहत अझै सम्म पनि गाउँगाउँमा नपुगेको आभाष भएको छ । शहरमा मात्रै राहत केन्द्रित रहँदा गाउँका विपन्न परिवार भोकै मर्नुपर्ने बाध्यता आएको उनी बताउँछिन् । सरकारी निकायले अभिभावकत्व ग्रहण गर्ने गरी काम गर्नुपर्ने उनको सुझाव छ । श्रेयाले छिट्टैनै गोरखाका विपन्न परिवारलाई समेत राहत वितरण गर्दै छिन् ।