सिरहामा मास्क नलगाई हिँड्ने ६४ जना कार्वाहीमा

सिरहामा मास्क नलगाई हिँड्ने ६४ जना कार्वाहीमा

राजेन्द्र महतो, लहान

कोरोना भाइरसको संक्रमण रोक्नका लागि सिरहामा मास्क नलगाई हिड्ने ६४ जनालाई प्रहरीले पक्राउ गरी जनही १ सय रुपैया तिराएको छ । नियम उलङ्घन गरेर मास्क नलगाइ हिड्नेलाई स्थानीय प्रशासनले जनही एक सय रुपैयाँ जरिवाना लिएको हो ।

गृह मन्त्रालयले मास्क नलगाई सडकमा हिँड्नेलाई कार्वाही गर्न निर्देशन दिएसँगै सिरहा प्रहरीले सक्रियता देखाएको हो।
मास्क नलगाई हिँड्नेलाई पक्राउ गरी संक्रामक रोग ऐन, २०२० अन्तर्गत कार्वाही थालिएको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद पञ्जियारले बताएका छन्। सोही ऐनको व्यवस्थाअनुसार पक्राउ परेकालाई स्थानीय प्रशासनले जनही एक सय रुपैयाँ जरिवाना गरेको पनि पञ्जियारले बताए।

जिल्ला प्रशासन कार्यालय सिरहाले जरिवाना गरेर पहिलो पटकका लागि सचेत गराउँदै सबैलाई छाडेको छ । सिरहामा न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी, मास्कविना आवतजावत गर्ने, भिडभाड गर्ने, सामाजिक दूरी कायम नगर्ने प्रवृत्तिलाई रोक्न कडाइ गर्न थालिएको हो ।

मंगलबार जिल्ला प्रहरी कार्यालय सिराहाले २२ जना, ईलाका प्रहरी कार्यालय बिष्णुपुरले १८ जना, ईलाका प्रहरी कार्यालय महेशपुर पतारीले ५ जना , इप्रका गोलबजारले ५ र इप्रका लहानले १४ जनालाई पक्राउ गरेको थियो । बुधबार थप ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

रोगबाट बच्न सचेतनामूलक कार्यक्रम पनि जारी राख्ने र अटेर गर्नेलाई कार्वाही पनि गर्ने एसपी पञ्जियारले बताएका छन् ।

सम्बन्धित खवर