पथरी डायनीया सडकको बेहाल, स्थानीयले लगाए ढाट

पथरी डायनीया सडकको बेहाल, स्थानीयले लगाए ढाट

पथरी, मोरङको पथरी डायनीया सडक खण्डको बेहाल बनेको छ । गाउँघरमा एम्बुलेन्स समेत आउन नसक्ने भएपछि पथरी शनिश्चरे ५ र ६ को सिमानामा पर्ने कोशेलीचौकमा स्थानीयहरुले आज विहान ढाट लगाएको बीरबहादुर तिम्सिनाले जानकारी दिए ।

पथरी डायनीया सडक खण्ड २८ कि.मी रहेको छ । सो सडकको अधिकांश भाग पिच भत्किएर खाल्डा परेका छन् । प्रत्येक वर्ष वर्षायाम सुरु नहुदै यो सडक भत्किने र खाल्डा पर्ने गरेको छ । अहिले सार्वजनिक बसहरु नचलेता पनि विकास निर्माणका सामग्री ढुवानी गर्ने हाइवा (ठुला टिफर) हरुले बाटोको दुर्गती बनाएको स्थानीय रमेश कार्कीले बताए । पटक पटक वडामा मौखिक रुपमा जानकारी गराएको तर वडाले पनि बेवास्ता गरेको कार्कीको भनाइ छ ।

हिजो साँझ मोटरसाइकलमा यात्रा गरिरहेका स्थानीय भेष बहादुर बस्नेत खाल्डोमा लडेपछि स्थनीय झन आक्रोसित बनेका छन् । घाइते भएका बस्नेत सामान्य उपचार पछि घरमा आराम गरिरहेका छन् ।

वडामा बजेटको दायरा सानो हुने भएकाले यस्ता योजना नगर, प्रदेश र केन्द्र स्तरबाट नै आउनुपर्ने पथरी शनिश्चरे वडा नं. ५ का अध्यक्ष जोग बहादुर धिमालले बताए । असार १० गते सम्पन्न नगरसभाले पनि सो सडक मर्मतका लागि योजना पास गरेको तर कति बजेट भनेर नतोकेको धिमालले जानकारी दिए । आज बुधबार नै नगरका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर सहितको टोलीले अनुगमन गरेर आवश्यक बजेट विनियोजन गर्ने सल्लाह भएको धिमालले जानकारी दिनुभयो ।

सो सडकका लागि पटक पटक कुरा उठेको र आवश्यक बजेट विनियोजनका लागि नगरप्रमुखसंग सल्लाह भइरहेको वडा नं. ६ का अध्यक्ष जय बहादुर तामाङले जानकारी दिए । अब केही दिनमा नै आवश्यक बजेट विनियोजन गरेर हहाल भत्किएको पिच जोतेर सबै खाल्डा खुल्डी पुर्ने र रोलर लगाएर थिच्ने तयारी रहेको तामाङले जानकारी दिए ।

यही सडकमा अघिल्लो वर्षपनि स्थानीयले धान रोपेर विरोध जनाएका थिए । सडक अवरोध गरेपछि नगरप्रमुख सहितको टोली पुगेर सडक मर्मत गर्ने, केन्द्रको बजेटमा परेको लगाएतका आश्वासन दिएका थिए ।

सम्बन्धित खवर