कैलालीमा ओली र प्रचण्ड पक्षधरबीच झडप

कैलालीमा ओली र प्रचण्ड पक्षधरबीच झडप

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झडप भएको छ ।

ओली पक्षधरहरूले आज दिउँसो करिब ५ बजेतिर लम्कीचोकमा प्रधानमन्त्री पदको बचाउ गर्दै र्‍यालीसहित कोणसभा गरिरहेको समयमा प्रचण्ड पक्षधरहरू एकएक आएर आक्रमण गरेपछि स्थिति तनावग्रस्त भएको प्रत्यक्षदर्शी पत्रकार लोकबहादुर देउवाले बताए ।

सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा ओलीको फोटोसहित नेपालको नयाँ नक्सा राखेर २ दर्जन बढी युवाको सहभागितामा लम्की चौराहामा प्रदर्शनसमेत गरेका थिए ।

देशको मुहार फेर्नु छ साथी, पार्टीभन्दा राष्ट्रमाथि, राष्ट्रिय स्वाभिमान कायम गर, वैदेशिक हस्तक्षेप बन्द गरलगायतका  नारासमेत लेखेका प्ले कार्डसहित ओली पक्षधर युवाहरूको सहभागिता थियो ।

सचेत नागरिक समाजका तर्फबाट ओली पक्षनिकट मानिँदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गर्दै गरेको भाषणलगत्तै बोल्न माइक समाएका लम्कीचुहाका नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गर्दै प्रचण्डले बकमफुसे कुरा गरेको आरोप लगाएका थिए ।

दुईतिहाइको सरकारलाई आफ्नै साथीहरूले ढलाउन खोजेको भन्दै आक्रोश पोखिरहेका बेला प्रचण्डनिकटका केही युवाहरू खड्कामाथि खनिएका थिए । ओली पक्षधरहरूले आफूहरूमाथि प्रचण्डका पूर्वलडाकूहरूले नियोजित रूपमा आक्रमण गरेको आरोप लगाएका छन् ।

माहाैल साम्य पार्न प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो । पछिल्लो समयमा नेकपाभित्र सत्ता र कुर्सीका लागि विवाद चुलिँदै गएको छ भने पार्टीसमेत फुटको अवस्थामा पुगेकाे छ ।

सम्बन्धित खवर