अध्यक्षद्वय ओली र प्रचण्डबीच पहिलोपटक विवाद समाधानका लागि ठोस छलफल

अध्यक्षद्वय ओली र प्रचण्डबीच पहिलोपटक विवाद समाधानका लागि ठोस छलफल

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीमा देखिएका विवाद समाधानका लागि बल्ल विषयवस्तुमा प्रवेश गरेका छन् ।

यसअघिका भेटवार्तामा पार्टीमा देखिएको विवाद समाधानका लागि ठोस छलफल भएका थिएनन् । आज दुई अध्यक्षबीच भएको वार्तामा भने विवाद समाधानका लागि पहिलोपटक विषयवस्तुमा प्रवेश गरेको छ ।

आज नेताहरुबीच भएको वार्तामा पाटीभित्र देखिएको विवाद समाधान उन्मुख देखिएको छ । नेता कार्यकर्ताको चर्को दवावपछि एकतालाई टिकाई राख्न शीर्ष नेताहरु लचक रुपमा प्रस्तुत हुन थालेका छन् ।

दुई अध्यक्षबीचको वार्तामा महासचिव विष्णु पौडेल सहभागी थिए । उनले दुई अध्यक्षबीचको वार्ता सकारात्मक दिशातर्फ गएको बताए ।

दुई नेताहरुबीच भएको वार्तामा अहिलेसम्म उठेका विषयवस्तुमा छलफल भएको छ । पार्टीमा प्रधानमन्त्रीको राजीनामा माग भइसकेको विषयमा प्रचण्डले कुरा राखेका थिए । पार्टी निर्णय मान्नुपर्नेमा प्रचण्डको जोड थियो ।

विगतको तुलनामा प्रधानमन्त्री ओली थप गम्भीर देखिएका थिए । उनले पार्टीमा उठेका विषयवस्तुप्रति आफू गम्भीर रहेको बताएका थिए ।

पार्टीभित्र उठेका समस्या समाधानका लागि दुई नेताबीच आइतवार पनि करिव डेढ घण्टा वार्ता चलेको थियो ।

वार्तामा रहेका नेताहरुले दुई अध्यक्षबीच कति विषय सहमति नजिक पुग्न सकिन्छ भनेर खाका बनाएका थिए । दुवै पक्षका आ–आफ्ना अडानमा सहमतिको विन्दु कहाँ भेटिन्छ भनेर महासचिव विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनबीच छलफल भएको थियो ।

चारै नेताले दुवै अध्यक्षका अडानका बीचमा सहमतिको विन्दु बनाएर एजेण्डा बनाएका थिए ।

स्रोतका अनुसार शीर्ष नेताहरुलाई पार्टीभित्र कसरी व्यवस्थापन वा जिम्मेवारी दिन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत भएको छ । सबै नेतालाई सम्मान प्रदान गर्ने, सरकार र पार्टीलाई सबै नेताले अपनत्व बनाउने गरी कसरी परिचालन गर्न सकिन्छ भनेर विषयहरु उठिरहेका छन् । तर, ती विषय मिलाउने जिम्मा दुई अध्यक्षलाई नै छाडिएको छ ।

दुवै अध्यक्ष घनिभूत छलफलमा जुट्नुपर्ने भएकाले आजका लागि बोलाइएको स्थायी कमिटीको बैठक बुधबार विहानसम्मका लागि स्थगित भएको छ । मंगलबारसम्म सहमति जुटे बुधबारको बैठकले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने नेताहरुले बताएका छन् ।

सम्बन्धित खवर