काठमाडौं । आज बस्ने नेकपाको स्थायी कमिटी बैठक बुधबार सम्मका लगि स्थगित भएको छ । नेताहरुबीच सहमतिको प्रयासका लगि भन्दै बैठक स्थगित गरिएको हो ।
यो भन्दा अघि पनि दुई दिन स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।
अब स्थायी कमिटीको बैठक असार २४ गते ११ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाकार यूर्य थापाले जानकारी दिए । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ ।
स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह भएको हो । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिदै आएका छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा छन् ।
शीर्ष नेताहरुबीच सहमतिको प्रयासमा बैठक र छलफल हुँदै आएको छ तर पनि सहमति हुनसकेको छैन । सोमबार बिहान पनि नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका थिए।
यसअघि भएका सहमतिका प्रयासमा खासै प्रगति नभएपछि नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको छ ।