काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवको सरुवा गरेको छ । कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ । हालै बढुवा भएका २२ जनालाई पनि पदस्थापन गरिएको छ ।
मन्त्रालयले ६३ जना वरिष्ठ सहसचिवलाई प्रदेश कार्यालयहरुमा खटाएको हो । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार काज तथा कामकाज गर्न खटाइएका नेपाल प्रशासन सेवा राज पत्रांकित प्रथम श्रेणीका सहसचिवको मन्त्रालयले आइतबार सरुवा सूची सार्वजनिक गरेको छ ।
असार १९ गते बसेको मन्त्रिपरिषदको निर्णय भए पनि मन्त्रालयले भने आइतबार मात्रै सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शोभाकान्त पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कामकाजको लागि खटाइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी चन्द्रकला पौडेललाई गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा र गृह मन्त्रालयका राजेश पौडेललाई हेटौंडा उपमहानगरपालिकामा कामकाजका लागि खटाइएको छ ।