काठमाडौं । नवगठित एमालेका पदाधिकारी निर्वाचन आयोगमा पार्टी दर्ता गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका केही नेतासँग निकट रहेको बुझिएको छ ।
पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिनुअघि प्रधानमन्त्रीसँग एमालेका उपाध्यक्ष, सचिवलगायत नेताको साइनो रहेको फोटो सामाजिक सञ्जालमा देख्न पाइन्छ । उपाध्यक्ष अस्मिता सुनवार गत दसैंमा प्रधानमन्त्रीसँग टीका थाप्न गएकी र प्रधानमन्त्रीसँग बसेर फोटो खिचाएकी थिइन् । जुन फोटो अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ । यसैगरी अर्की उपाध्यक्ष भगवती खड्काले पनि गत दसैंमा नेकपाका नेता महेश बस्नेतको हातबाट टीका लगाएकी थिइन् । सो फोटो उनले सामाजिक सञ्जालमा राखेकी छन् ।
खड्का रेसलर पनि हुन् । यसअघि उनी नेपाल कम्युनिस्ट पार्टीसँग निकट थिइन् । एमाले दर्ता गर्नुअघि खड्काको साइनो प्रधानमन्त्री तथा नेकपाका नेताहरूसँग रहेको सामाजिक सञ्जालमा राखिएको फोटोबाट थाहा हुन्छ ।
यसैगरी प्रदेश ३ का सचिव जयराम राउतको पनि सम्बन्ध यसअघि प्रधानमन्त्रीसँग रहेको देखिन्छ । यसअघि उनले सामाजिक सञ्जालमै ‘आइएम विथ महेश बस्नेत’समेत लेखे । उनले पनि दसैंमा प्रधानमन्त्रीसँग टीका लगाएका थिए ।
नवगठित एमाले महासचिव मनीष उपाध्याय भने पार्टी दर्ता गर्नुअघि आफूहरू प्रधानमन्त्री र नेकपाका नेतासँग निकट हुनुलाई स्वाभाविक ठान्छन् । ‘यो त्यति ठूलो कुरा होइन । नयाँ पार्टी दर्ता गर्नुअघि नेकपाका नेतासँग कनेक्सन हुन सक्छ,’ उनले भने, ‘तर प्रधानमन्त्रीको इसारामा हामीले पार्टी दर्ता गराएका भने होइनौं । यसमा नेकपाका नेताको कुनै भूमिका छैन ।’
मदन भण्डारीको जन्मदिन अवसर पारी गत असार १४ गते नेकपा एमाले दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको थियो । तर, नेकपाका केही नेताको बुझाइ भने प्रधानमन्त्रीको इसारामा एमाले दर्ता भएको भन्ने छ । यो विषय केही दिनअघि नेकपाको बैठकमै उठेको थियो ।
नवगठित पार्टीको अध्यक्षमा मोरङ विराटनगर–६ की सन्ध्या तिवारी छिन् । तर, उनको प्रोफाइलबारे पार्टीका कुनै पनि नेता अहिलेसम्म केही बोलेका छैनन् । तिवारी यसअघि नेकपामा थिइन् र प्रधानमन्त्री ओलीनिकट थिइन् । निर्वाचन आयोगले पार्टी दर्ता गरेको प्रमाण पत्र दिनेबित्तिकै अध्यक्ष सार्वजनिक गर्ने नीति पार्टीले बनाएको छ । ‘अध्यक्षबारे अहिले केही बोल्दैनौं । निर्वाचन आयोगले प्रमाणपत्र दिनेबित्तिकै अध्यक्षको प्रोफाइल सार्वजनिक गर्छौं,’ उनले भने । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।