मान्छेबाट सर्छ भनिएको कोरोना काठमाण्डौको ढलमा पनि भेटियो

मान्छेबाट सर्छ भनिएको कोरोना काठमाण्डौको ढलमा पनि भेटियो

उपत्यकाको ढलमा कोभिड १९ को भाइरस देखिएको छ । उपत्यको ४ ठाउँको ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस देखिएको हो ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले उपत्यकाको ढलमा कोभिड १९ को भाईरस फेला परेको बताएको छ । उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताए ।

डाक्टर कर्माचार्यका अनुसार अन्य देशका अध्ययनहरुले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ । जस अनुसार केही देशमा यस्ता अध्ययनहरु भइसकेका छन् । नेपालमा पनि सोही आधारमा अध्ययन गरिएको उनले बताए । ‘नेपालमा पनि संक्रमणको दर बढ्दै जाँदा हामीले ढलको स्याम्पल ल्याएर अनुसन्धान गर्यौं, जसबाट चार ठाउँमध्ये दुई ठाउँमा कोभिड १९ को भाइरस रहेको फेला पार्यौं,’ डाक्टर कर्मचार्यले भने ।

अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने डाक्टर कर्मचार्य बताउँछन् । यसरी अध्ययन गर्दा संक्रमण फैलिइएको क्षेत्रको पहिचान हुने उनी बताउँछन् । जसको कारण समुदायमा संक्रमण पत्ता लगाउन परीक्षण गर्दा किटहरु समेत बचत हुनेछ ।

उनका अनुसार यो अध्ययनलाई आधार मानेर ढलमा संक्रमण देखिएको क्षेत्रको मानिसमध्येबाट जोखिम समूह छ्ट्याएर परीक्षण गर्न सकिन्छ । त्यो गर्दा उपत्यकाका सबै ठाउँका सबै मानिसको परीक्षण गर्न जरुरी हुँदैन । ‘यस्तो अध्ययनले संक्रमण फैलिएको क्षेत्र थाहा भइहाल्छ, त्यो थाहा पाएपछि पहिला दीर्घरोगी, वृद्धहरु र जोखिम समूहका मानिसलाई प्राथमिकता दिएर परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘यसो गर्दा राज्यको धेरै किट, जनशक्ति, स्रोत र खर्च बच्छ ।’

प्रारम्भिक अनुसन्धानमा नै यस्तो तथ्य फेला परेपछि नतिजा सार्वजनिक गरिएको उनले बताए । जनस्वास्थ्य वैज्ञानिक समिरमणी दीक्षितका अनुसार भाइरसको थोरै मात्र परीमाण भयो भने ढलबाट जाँच गर्दा भाइरस पत्ता लाग्दैन । यो अध्ययनले उपत्यकाका केही ठाउँका धेरै मानिसमा संक्रमण देखाएको उनी बताउँछन् । उनले भने, ‘अब हामी ललितपुरको वडा–वडाको अनुसन्धान गर्छौं ।’

सम्बन्धित खवर