काठमाडौं : आजबाट वैदेशिक रोजगारीको लागि पुनःश्रम स्वीकृति खुला भएको छ । कोरोना महामारीका कारण विगत ४ महिनादेखि रोकिएको वैदेशिक रोजगारीको लागि आजबाट पुन श्रम स्वीकृति खुला भएको वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौं कार्यालय ताहाचलले जानकारी दिएको छ ।
आजबाट पुन श्रम स्वीकृति खुला गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पत्र प्राप्त भएको छ । आजबाट कार्यलय जानेहरुले पुन श्रम स्वीकृति पाउने छन् । वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि पुन श्रम स्वीकृति प्रदान गरिने छ ।
काठमाडौं कार्यालयबाट आज नै श्रम स्वीकृति दिन शुरु गरिने वैदेशिक रोजगार विभागका निर्देशकले जानकारी दिएको छ । अन्य प्रदेशमा रहेका श्रम कार्यालयहरुबाट भने आइतबारबाट मात्र पुन श्रम स्विकृति दिन शुरु गरिने उनले मन्त्रालयले बताएको छ ।
काठमाडौं कार्यालयले स्वास्थ्य प्रोटोकलको मापदण्ड अनुसार सेवाग्राहीको लागि लाईन बस्न २÷२ मिटरको दुरी कायम हुनेगरी चिन्ह लगाइ सकेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अख्तियारी प्रदान गरेसंगै श्रम स्वीकृति दिनको लागि बाटो खुलाएको थियो ।
सीसीएमसी बैठकले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई विदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने उल्लेख गरेको थियो । सोहि अख्तियारीको आधरमा श्रम मन्त्रालयको सिफारिसका आधारमा विदामा आएका साथै नयाँलाई पनि श्रम स्वीकृति दिने निर्णय गरिएको थियो ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो । उक्त निर्देशन पश्च्यात विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो । श्रम कार्यालय ताहाचालले वैदेशिक रोजगार मागपत्रको स्वीकृतिका साथै श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।