आत्महत्याका घटनामा वृद्धि

आत्महत्याका घटनामा वृद्धि

काठमाण्डौ

विपद्को समयमा निराशापन बढ्नु, एक्लोपन र आर्थिक समस्याका कारण आत्महत्याका घटना बढेको स्वास्थ्य मन्त्रालयको एक अध्ययनले देखाएको छ ।

कोभिड१९ को सङ्क्रमण जोखिम न्यूनीकरणका लागि जारी भएको लकडाउनको समयमा सामाजिक सम्पर्क हुन नसक्दा एक्लोपन हुनु, आर्थिक समस्या, परीक्षण स्थगित हुनुजस्ता कारण आत्महत्याका घटनाहरु बढेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले विपद्को समयमा हुने चिन्ता, आइसोलेशन र क्वरेण्टीनमा सामाजिक सम्पर्क नहुने भएकाले आत्महत्या बढेको अध्ययनले देखाएको बताउनुभयो ।

संसद्को महिला तथा सामाजिक समितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले विगत वर्षको तुलनामा घटनाहरु कम भएको बताउनुभयो । कुनै महिनामा कम र कुनै महिना बढी घटना घटेका कारण अनुपातमा सङ्ख्या बढेको मात्रै देखिएको तर समग्रमा विगतभन्दा कम घटना घटेको उहाँले बताउनुभयो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले क्वरेण्टीनमा महिलाहरुका लागि छुट्टै व्यवस्था भए हिंसाका घटनामा कमी आउने बताउनुभयो । सम्बन्धित मन्त्रालय र सबै पालिकाहरुमा महिलाहरुका लागि छुट्टै क्वरेण्टीनको व्यवस्था गर्न आग्रह गरिएको पनि उहाँले बताउनुभयो ।

समितिले मानसिक स्वास्थ्यलाई पहुँचयोग्य बनाउन सरकारलाई निर्देशन दिएको छ । आत्महत्या जोखिमयुक्त वर्गको पहिचान गरी मनोसामाजिक परामर्श प्रदान गर्ने खालका कार्यक्रम सञ्चालन गर्न र स्वास्थ्य बीमालगायतका सामाजिक सुरक्षाको दायरा बढाउन पनि समितिले निर्देशन दिएको छ ।

मनोसामाजिक परामर्शका लागि प्रदेशगत रूपमा निःशुल्क हटलाइनको व्यवस्था गर्नुपर्ने र भएकालाई प्रभावकारी सञ्चालन गर्न समितिले गृह मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताउनुभयो ।

स्रोत : उज्यालो अनलाईन

सम्बन्धित खवर