अब किसानहरुको परिश्रम खेर जादैँन : धनश्याम भुसाल

अब किसानहरुको परिश्रम खेर जादैँन : धनश्याम भुसाल

उदयपुर । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले अबका दिनमा किसान नडुब्ने बताएका छन् । त्रियुगा नगरपालिका–१३ बडेहरुवा चक्लाबन्दी खेतीको उद्घाटन कार्यक्रममा आएका मन्त्री भुसालले कृषि क्षेत्रमा आउनेलाई सरकारले सहयोग गर्ने भएकाले अबका दिनमा किसान नडुब्ने बताए ।

‘जो कृषि गर्छु भनेर आउँछ, उसलाई मल, बीउ, पानी, विजुली, सस्तो ब्याजमा कर्जा सबै उपलब्ध गराउन तयार छौँ,’ मन्त्री भुसालले भने, ‘कृषकले उत्पादन गरेका उत्पादनको न्युनतम मूल्य तोक्ने, उत्पादन गरेका बस्तुहरु लिइदिने, त्यसो गर्दा उहाँहरुले कृषिमा डुब्नु पर्दैन ।’

उनले कृषि क्षेत्रमा छिटो समयमा धेरै नाफा खोज्न लाग्दा आत्मानिर्भर बन्न नसकिने दाबी गरे । राजा महेन्द्रको पालादेखि कृषिमा आधुनिकीकरण भनिए आधुनिकीकरण नभएको बताए । उनले भने, ‘७० वर्षदेखि कृषिमा यान्त्रीकरण भन्दै पैसा पनि विनियोजन गरिएको खर्च पनि गरियो, तर भएन ।’

मन्त्री भुसालको बुझाइमा कृषकलाई नाफा देखाउन नसेकाले नै कृषि क्षेत्रमा यान्त्रीकरण नभएको हो । उनले चक्दाबन्दी खेतीमा १०० बिघासम्म खेती गर्नेलाई संघीय सरकारले अनुदान सहयोग गर्ने पनि बताए ।

चक्लाबन्दी खेती सुरु

त्रियुगा नगरपालिकाकाले वडा १३ बडेहरुवा चक्लाबन्दी खेती सुरु गरेको छ । नगरपालिकाले सहारा कृषि सहकारी संस्था लिमिटेडमार्फत पहिलो चरणमा ६० बिघा क्षेत्रफलमा चक्लाबन्दी खेती सुरु गरेको सहकारीका अध्यक्ष सीताराम चौधरीले बताए ।

‘यसलाई बढाउँदै आगामी वर्षमा १२० विघा पुर्याउने छौँ,’ अध्यक्ष चौधरीले भने, ‘पहिलो चरणमा ६० विघा खेती गरेका छौँ।’

प्रदेश १ सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले पनि प्रदेश सरकारले नि चक्लाबन्दी खेतीमा जोड दिएको बताएका छन् । ‘प्रदेश सरकार कृषिमा आधुनिकीकरण गर्न तयारी अवस्थामा रहेको छ,’ उनले भने, ‘त्रियुगामा सुरु भएको चक्लाबन्दी खेतीले त्रियुगामा समृद्धि ल्याउने छ ।’

त्रियुगा नगरपालिकाकाले मेयर बलदेव चौधरी, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) उदयपुरका अध्यक्ष विनोद कटुवाल लगायतका विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, संघसंस्थाहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर