मदन भण्डारीको जन्मदिवसका अवसरमा रतुवामाईमा वृक्षरोपण

मदन भण्डारीको जन्मदिवसका अवसरमा रतुवामाईमा वृक्षरोपण

 

इटहरा : जननेता मदन भण्डारीको जन्मजयन्ती मूलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । भण्डारीको ६९ औँ जन्मदिवशको अवसरमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र पार्टी निकट संघसस्थाहरुले जनचेतनामूलक एंम रचनात्मक कायहरु गरेका छन् ।

त्यस्तै नेकपा मोरङको आयोजना र रतुवामाई नगरकमिटीको व्यवस्थापनमा रतुवामाई नगरपालिका वडा नम्वर १० स्थित भण्डारीको कर्मथलो सातमेडी र ८ नम्बरको झुनाबारीमा वृक्षरोपण गरी मदन जयन्ती मनाइएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले मदन भण्डारी कै विचारले नेपालमा कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गरेको धारणा राख्नुभयो । भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवादले नै नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गरेको उल्लेख गर्दै मन्त्री कार्कीले यसैको जगमा नेकपाले मुलुकमा बहुमतको सरकार संचालन गरिरहेको बताउनुभयो ।

मोरङ जिल्ला कमिटी अध्यक्ष क्रषिकेश पोख्रेलले वृक्षरोपणको कार्यक्रम नेकपाले आयोजना गरे पनि यो सबै पार्टीको साझा अभियान भएको बताउनुभयो । अव नेपाली कांग्रेस र नेकपावीच राजनैतिक भन्दा पनि रचनात्मक कार्यमा प्रतिस्पर्धा हुनु पर्ने धारणा राख्नु भयो ।

मदन भण्डारीको विचारले अहिले मुलुकलाई नेतृत्व गरिरहेको भन्दै अध्यक्ष पोख्रेलले समाजवाद तर्फको यात्रामा यस्ता रचनात्मक कार्यले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातवरण राज्यमन्त्री बिजय विश्वास, प्रदेशसभा सदस्य राजकुमार ओझा, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोख्रेल, नेकपा केन्द्रीय कमिटी सदस्य महेश रेग्मी लगायतका दर्जनौ नेताहरुको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रम पश्चात् रतुवा नदी किनारमा वृक्षरोपण गरियो । फराकिलो चौरमा पहिले नै तयार पारिएका खाल्टामा कार्यक्रमका अतिथि र सहभागी सबैले कम्तीमा एक—एक वटा विरुवा रोपिएको थियो ।

वन डिभिजन कार्यलय मोरङको सहयोगमा भएको वृक्षरोपणका लागि सव डिभिजन वन कार्यलय मंगलवारे र पथरीशनिश्चरे साझेदारी वन व्यवस्थापन समितिले २ हजार ५ सय विरुवा प्रदान गरेको साझेदारी वनका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो । वृक्षरोपणमा मसला, टिक, बकाइनो, इपिलिपी, किम्वु, जामुन, फडिर, खयर लगायतका विरुवा रोपिएको पनि उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर