पथरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरीमा दुर्घटना भएको छ । गएराति भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कारपियो दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिनुभयो। गिरीका अनुसार सुरुमा स्कारपियोले सोही दिशामा हिँडिरहेकी पैदल यात्री अन्दाजी ४०÷४५ वर्षीया महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट ति महिलाको घटनास्थलमै मृत्यु भएको थियो।
त्यसपछि अनियन्त्रित बनेको स्कारपियोले पश्चिमबाट पूर्वतर्फ आउदैगरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको छ ।
पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको गिरीले जानकारी दिनुभयो।
स्कारपियोका धनीसमेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले कानेपोखरीकै रमाइलोबाट राति १० बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । झापाको दमकमा दुई जनालाई छाडेर इटहरीतर्फ फर्कँदा स्कारपियो दुर्घटनामा परेको हो ।