पोखरामा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापन गरियो

पोखरामा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापन गरियो

पोखरा : पोखरामा मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव व्यवस्थापन गरिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ( पश्चिमान्चल क्षेत्रीय अस्पताल ) मा बुधवार राति ११:३० मा मृत्यु भएका स्याङजा सिरुवारीका ५५ बर्षीय पुरुषको शव पोखरा ३२ मजुवामा बिहीबार दिउसो  व्यवस्थापन गरिएको हो ।

नेपाल प्रहरी र नेपाली सेनाको डेडीकेटेड  टोलीले मजुवा स्थित साततहरामा मृतकको शव व्यवस्थापन गरेको हो । प्रशासनको सक्रियतामा मजुवामा शव व्यवस्थापन भएको पोखरा महानगर प्रमुख मानबहादुर जिसीले बताए । कसैलाई जोखिम नहोस् भनेर  मानव बस्तीबाट टाढा मजुवाको साततहरामा शव व्यवस्थापन गरिएको उनले जनाए ।

शव व्यवस्थापनका क्रममा स्थानीयबाट अवरोध भएपछि केहि समय  झडप समेत भएको थियो । स्थानीयहरुले उक्त स्थानमा शव गाड्न नदिनको लागि बाटोमा टायर बालेर अवरोध गरेका थिए । शव व्यवस्थापनका क्रममा भएको झडपमा  प्रहरीले हवाई फायर समेत गरेको थियो ।

घटनामा प्रहरी तर्फ २ जना घाइते भएको  कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले जानकारी दिए । शव व्यवस्थापनको क्रममा अवरोध सिर्जना गर्न खोज्ने ८ जनालाई नियन्त्रणमा लिइएको उनले बताए । झडपमा ७ जना स्थानीय घाइते भएका  छन् ।

निमोनिया तथा मधुमेहका समेत बिरामी रहेका पुरुषको असार ८ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

यस अघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिकाका ५८ वर्षीय पुरुषको गत जेठ २६ गते पोखरा -११ स्थित रिठ्ठाघाटमा शव व्यवस्थापन गरिएको थियो। रिठ्ठाघाटमा शव व्यवस्थापन गर्ने क्रममा समेत  झडप भएको थियो ।

सम्बन्धित खवर