सँगै उठबस गर्ने ससुरालाई कोरोना, ज्वाइँलाई किन लागेन ?

सँगै उठबस गर्ने ससुरालाई कोरोना, ज्वाइँलाई किन लागेन ?

जोमसोम, ‘स्वास्थ्य विज्ञका अनुसार कोरोना भाइरस (कोभिड—१९)को संक्रमणबाट सुरक्षित रहन कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गरौं’ भन्ने सन्देश हरेकले फोन सम्पर्क गर्दाको टोनमा बज्छ । तर, सामाजिक दुरी कायम गरेकै भरमा कोरोनाबाट सुृरक्षित रहन सकिन्छ वा यसबाट बच्न अन्य उपाय छन् यो पछिल्ला केही घटनाक्रमले कौतुहलता जन्माइदिएको छ ।

केही हप्ताअघि १ सुत्केरी महिलालाई कोरोना पुष्टि हुँदा उनीबाट जन्मिएको शिशुको पिसिआर रिपोर्ट नेगेटिभ आयो । त्यो उदाहरण मात्र काफी छैन । सँगै एउटै छानोमुनि मात्रै होइन एउटै कोठामा बस्दै आएका ससुराको रिपोर्ट पोजेटिभ आयो भने ज्वाइँको पिसिआर रिपोर्ट नेगेटिभ आयो । कोरोनाबाट सुरक्षित रहने स्वास्थ्य विज्ञको निश्कर्षमा यसले प्रश्न चिन्ह खडा गरिदिएको छ ।

काठमाडौं जोरपाटीको तिब्बती शरणार्थी क्याम्पमा निजी घर समेत भएका ८३ वर्षीय पुरुषलाई मुस्ताङ आउने क्रममा स्वास्थ्य चेकजाँच गर्दा कोरोना पोजेटिभ देखियो । उनलाई जेठ ३२ गते आरडिटी र असार ७ गते पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । तर, उनीसँगै रहेका ज्वाइँको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएपछि सामाजिक दुरी कायम गर्ने सरकारी सन्देशमाथि प्रश्न उब्जिएको हो ।

संक्रमित बृद्ध सुगर, प्रेसर लगायतको बिरामी पनि हुन् । तर उनको अवस्था सामान्य छ । त्यति मात्र होइन संक्रमित बृद्धको नजिकै रहेका उनकी छोरी, १८ वर्षीय नातिनी र ४ वर्षीय नातिको समेत आरडिटी रिपोर्ट मुस्ताङ आउँदा नेगेटिभ आयो । अहिले जोमसोम अस्पतालको आइसोलेसनमा रहेका ससुराको रेखदेख तथा स्याहार सम्भारका लागि ज्वाइँ खटिएका छन् ।

मुस्ताङको घरपझोङ—१ छैरो तिब्बती शरणार्र्थी क्याम्पका उनी पुराना अंग्रज बासिन्दा पनि हुन् । उनकी छोरीको भनाइ अनुुसार ज्वाइँ नातिनी लिन भारतको धर्मशालामा पुगेका थिए । भारतमा पढ्ने गरकी नातिनी बिदा भएकाले यसै हिउँद याममा काठमाडौं आएकी थिइन् ।

संक्रमित बृद्धसहित एउटै बसमा यात्रा गरेका मुस्ताङको तिब्बती क्याम्पका अरु १८ जनाको आरडिटी समेत नेगेटिभ आयो । आरडिटी पोजेटिभ आएपछि ती बृद्धलाई ज्वाइँसँगै राखियो र बाँकी होम क्वारेन्टाइनमा बसे ।

बृद्धको कोरोना पुष्टि भएपछि सोमबार क्याम्पका १८ जनाको स्वाब पोखरा पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले क्याम्पका १८ जना सहित थप ९ जनाको स्वाब नमुना पोखरा पठाइएको स्वास्थ्य प्रमुख टीकाराम भण्डारीले बताए । यस्तै कोरोना संक्रमित बृद्ध सवार गाडीका चालकसहित अन्य ४ जनाको पनि स्वाब पोखरा पठाइएको छ ।

आइतबार आफ्नो बृद्ध बुबाको कोरोना पुष्टि भएपछि आश्चार्यमा परेको छोरीले बताएकी छिन् । उनले बुबा बृद्ध भएका कारण धेरै हिडडुल नगरे पनि कोरोना कसरी सर्‍यो आफूहरुलाई पत्तो समेत नभएको जनाईन् । उनले मुस्ताङमा कोरोना बृद्ध बुबाको कारण नभइ चाइनाबाट फैलिएकाले कमजोर अवस्थाका व्यक्ति यसको शिकार भइरहेको उनको तर्क छ । कतिपयले कोरोना भित्र्याएको भन्दै फोनमा आलोचना गर्ने गरेको उनको दुखेसो छ ।

मुस्ताङमा हालसम्म ५२ जनाको स्वाब नमुना संकलन भएको स्वास्थ्य कार्यालयले बताएको छ । जसमध्ये २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ र १ जनाको पोजेटिभ आएको स्वास्थ्य प्रमुख भण्डारीले जानकारी दिए ।

समाधान पत्रिकाबाट

सम्बन्धित खवर