लकडाउनको कष्टकर बेलामा शुल्क नलिन निजी स्कूललाई अनेरास्ववियुको चेतावनी

लकडाउनको कष्टकर बेलामा  शुल्क नलिन निजी स्कूललाई अनेरास्ववियुको चेतावनी

काठमाडौं । अनेरास्ववियुले निजी क्षेत्रबाट संचालित विद्यालयहरुको संगठन प्याब्सन र एन–प्याब्सनले विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी लकडाउनको कष्टकर बेलामा पनि शुल्क असुल्ने अभिप्राय स्वरुप जारी गरिएको संयुक्त अपिलप्रति आपत्ति जनाएको छ ।

कोरोना कहरका कारण लकडाउनले गर्दा आमविद्यार्थी र अभिभावकहरु चौतर्फी रुपमा आक्रान्त भएका बेला हठात् शुल्क उठाउने निजी विद्यालय संचालकहरुको आह्वानको अनेरास्ववियुले घोर निन्दा र भर्त्सना गरेको छ ।

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामी सवैलाई थाहा छ यतिबेला लकडाउनका कारण मुलुकमा झण्डै ९० लाख विद्यार्थीहरु शिक्षालय जानवाट रोकिएका छन् । अझ विद्यालय तहमा कलिला वालवालिकाहरु पढ्ने भएकाले कोरोना कहरका दृष्टिले विद्यालय क्षेत्र झनै संवेदनशील छ । लकडाउन केही खुकुलो हुँदै गएपनि उक्त संवेदनशीलताका कारण शिक्षा क्षेत्र सवैभन्दा ढिलो खुल्नु पर्ने परिस्थिति विद्यमान छ ।यस्तो विषम परिस्थितिमा सरकारले लिएको नीति र विद्यार्थी अभिभावकहरुले वेहोरिरहेको संकटलाई पुर्ण रुपमा वेवास्ता गरी एकतर्फी रुपमा शुल्क उठाउने आह्वान आपत्तिजनक छ ।’

प्याब्सन र एनप्याब्सनले ‘विद्यालयमा उपस्थित भई सामाजिक दुरी कायम गरी विद्यार्थीको भर्ना अभिलेख अध्यावधिक गर्न, २०७६ को वांकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्न , ०७७ सालको विद्यालयमा वुझाउनु पर्ने शुल्क भुक्तानी गर्न’ अपिल गरेका छन् ।

कोरोना कहरको त्रासदी, अभिभावकको विकाराल अवस्था र विद्यार्थीहरुको तनावपूर्ण मनोविज्ञानलाई पूर्ण रुपमा उपेक्षा गरी विद्यालय बन्द रहेको बेला जारी गरिएको यो अपिललाई अवज्ञा गर्न अनेरास्ववियू आमअभिभावक र विद्यार्थीलाई आह्वान गरेको छ ।

यसप्रकारको असान्दर्भिक र अब्यवहारिक निर्णय तत्काल फिर्ता लिन र लकडाउन अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्न समेत अनेरास्ववियुले चेतावनी दिएको छ ।

सम्बन्धित खवर