पोखरा : पोखराका एक पुरुषसहित गण्डकीमा ५३ कोरोना संक्रमित थपिएका छन् ।
पोखराका एक ४५ बर्षीय पुरुषसहित गण्डकी प्रदेशका ८ जिल्लाका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
सोमबार बेलुका तनहुँका १६ जना पुरुष तथा एक महिला, स्याङजाका ८ जना पुरुष तथा एक महिला, बागलुङका ८ जना पुरुष, गोरखाका ९ जना पुरुष तथा २ महिला, लमजुङका ५ जना पुरुष तथा पर्वत, नवलपुर र कास्कीका १/१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ५ सय ९३ पुगेको निर्देशनालयले जनाएको छ ।
यस अघि सोमबार बिहान पोखरा स्थित प्रदेश क्षयरोग केन्द्रको ल्यावमा गरिएको परीक्षणमा स्याङजाका १० जना पुरुष तथा २ महिला र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ८ पुरुष गरी २० जनामा कोरोना संक्रमण देखिएको थियो ।
निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।