पाेखरा : पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङस्थित बन्द रहेको चिल्ड्रेन पार्क खोल्नुपर्ने भन्दै बालबालिका हरूले आन्दोलन शुरु गरेका छन् ।
उनीहरूले यो आन्दोलन निरन्तर गर्ने जनाएका छन् । २०५३ सालमा स्थापना भएको लायन्स चिल्ड्रेन पार्कमा भौतिक संरचना थप गर्ने उद्देश्यसहित केही महिनादेखि बन्द छ ।
पार्कको गेटमा ताला लागेसंगै लकडाउनको अवधिभर यस आसपासका बालबालिकाहरू घरमै थन्किन बाध्य भएका थिए ।
पार्कभित्रको संरचना छिटो निर्माण गरेर पार्क सञ्चालन गरिदिन यहाँका स्थानीयले वडा कार्यालयसंग पटक पटक आग्रह गरेपनि वेवास्ता गरिएको स्थानीयको गुनासो छ ।
पार्क बन्द भएसंगै पार्क भित्र रहेको शिव मन्दिरमा पूजा पाठका कार्यक्रममेत अवरुद्ध भएको छ । यसबाट वृद्धवृद्धाहरू पनि आक्रोशित भएका छन् । उनीहरूले पार्क भित्र कंक्रिटको जंगल थुपार्न नहुने र पार्कलाई पार्ककै रुपमा रहन दिनुपर्ने माग गरेका छन् ।
करिब ९ रोपनी क्षेत्रफलको उक्त पार्कलाई थप सुन्दर बनाउने भन्दै गत असारमा ५ करोडको लागतमा भौतिक संरचना निर्माण कार्य शुरु गरिएको थियो । पार्क निर्माण कार्य केही महिनादेखि अवरुद्ध छ ।
बाल सरोकार समूह, पोखरा–५ प्रर्याङमा आवद्ध रहेर आन्दोलनमा उत्रिएका बालबालिकाले पार्क तत्काल खोल्नुपर्ने, बाल अधिकार हनन गर्न नुहने जस्ता माग गरेका छन् ।
उनीहरूले पार्कलाई खुल्ला बनाउनुपर्ने, पार्क भित्र कंक्रिटको जंगल थुपार्न नहुने लगायतका माग गरेका छन् ।