प्रबेश बिष्ट
इटहरा : मोरङको रतुवामाई नगरपालिकामा थप सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको बिओपी ( बोर्डर आउट पोष्ट) स्थापना गरिएको छ । भारतसँग सीमा जोडिएको वडा नं. २ मा शनिबार बिओपीको स्थापना गरिएको हो ।
रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राई र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री नगेन्द्र बहादुर थापाले संयुक्तरूपमा बोर्डर आउट पोष्टको स्थापना गर्नुभएको हो ।
स्थानीय सनातन राजवंशीले बिओपीका लागि ८ कट्ठा ४ धुर जग्गा नि:शुल्क प्रदान गर्नु भएको हो । राजवंशीले उपलब्ध गराएको जग्गामा निर्माण हुने बिओपीको भौतिक पूर्वाधारको काममा भने नगरपालिकाले सहयोग गर्ने छ ।
बिओपीको स्थापनाले सीमा क्षेत्रमा हुँदै आइरहेको अवैधानिक क्रियाकलापहरूको नियन्त्रणमा सहयोग पुग्ने भन्दै नगरप्रमुख राईले सीमावर्ती क्षेत्रमा नागरिकले भोग्दै आएको दुख पीडाको अन्त्य हुने बताउनुभयो ।
प्रमुख राईले भन्नुभयो, ‘ सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना भए पछि अब त्यहाँका नगरबासीले सुरक्षित भएको महसुस गरी ढुक्कले बस्न पाउने बताउनुभयो । ‘ बीओपी स्थापना भएको स्थलसम्म नगरपालिकाले सडक निर्माण गरिरेको पनि नगरप्रमुख राईले बताउनुभयो ।
बराह बाहिनीका बाहिनीपती नगेन्द्र थापाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै आउट पोष्ट स्थापना गरिएको बताउनुभयो । सीमा क्षेत्रमा प्रत्येक ३.५ किलोमिटरमा पोष्ट हुनुपर्ने भएता पनि नगरपालिकामा पर्याप्त पोष्ट नभएकाले अन्य सीमा क्षेत्रमा पनि बिओपी स्थापनाका लागि पहल गरिने पनि उहाले बताउनुभयो ।
बाहिनी पती थापाका अनुसार बिओपीमा सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ३५ जना सशस्त्र प्रहरीको दरबन्दी रहने छ ।