चिरगादी दुग्ध उत्पादक सहकारीको भवन मर्मत एवम् जेनेरेटर खरिद

चिरगादी दुग्ध उत्पादक सहकारीको भवन मर्मत एवम् जेनेरेटर खरिद

पाेखरा : दुधको शहर घोषित पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित चिरगादी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको भवन मर्मतका साथै जेनेरेटर खरिद गरिएको छ ।

पशुपंछी तथा मत्स्य विकास निर्देशनालयको सात लाख रुपैयाँ अनुदान र स्थानीय सहभागिता तीन लाख रुपैयाँ गरी १० लाख रुपैयाँको लागतमा भवन मर्मत एवम् जेनेरेटर खरिद गरिएको सहकारीका अध्यक्ष विशेश्वर आचार्य हरामीले जानकारी दिए ।

विगतमा १२ लिटर दुध बिक्रीका लागि चिरगादीको पुल पारी पुलचोकसम्म पुर्याउनुपरेको स्मरण गर्दै उनले हाल बाघमारा क्षेत्रबाट दैनिक पाँच हजार लिटरसम्म दुध उत्पादन हुने गरेको बताए । भवन मर्मतसँगै जेनेरेटर खरिदले आगामी दिनमा दुग्ध संकलन कार्यमा धेरै सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

भवन मर्मत एवम् जेनेरेटर खरिद कार्यको आज यहाँ आयोजित सार्वजनिकरण कार्यक्रममा प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले कृषिको आधुनिकीकरण बर्तमानको आवश्यकता भएको बताए ।

बजारमा कृषि उपजको ब्रान्डिङ हुने गरी लाग्नुपर्नेमा जोड दिदै उनले राज्यबाट प्राप्त योजना तथा कार्यक्रम उपयोगका लागि उपभोक्तामा त्यही किसिमको तदारुकता पनि आवश्यक हुने बताए । स्थानीय जागरुकता भएमा कृषि लगायतका हरेका क्षेत्रमा वडाका तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा दुग्ध विकास संस्थान पोखरा कार्यालयका प्रमुख हरिराम पौडेल, डेरी एशोसिएसन गण्डकीका अध्यक्ष शिवहरि आचार्य, सहकारीका सल्लाहकार खगराज आचार्य लगायतले दुग्ध व्यवसाय र यसको महत्व बारे प्रकाश पारेका थिए ।

सम्बन्धित खवर