गृह मन्त्रायलको एसएमएस सर्भिस ह्याक

गृह मन्त्रायलको एसएमएस सर्भिस ह्याक

काठमाडौं : गृह मन्त्रायलको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवामा अनधिकृत व्यक्तिले पुहँच पुर्‍याएका छन् । बुधबार गृहको एसएमएस सेवाबाट अनधिकृत रुपमा भारत–चीन सीमा विवादबारे एसएमएस प्रवाह भएको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार यो एसएमएस मन्त्रालयका सबै कर्मचारीलाई गएको थियो । ‘हाम्रो नियमित सूचना एमओएचए नामबाट म्यासेज पठाएर प्रवाह गरिन्छ’, ती अधिकारीका अनुसार ‘त्यसैमा भारतको पक्षमा एसएमएस आएको छ ।

मन्त्रालयका सह–सचिव एवं प्रवक्ता केदारनाथ शर्माले बुधबार दिउँसो करिब दुई बजे मन्त्रालयको एसएमएस प्रणालीमा ह्याकरले अनधिकृत रुपमा पहुँच पुर्‍याएको बताउनुभयो । उहाँले गलत र भ्रामक एसएमएस मन्त्रालयबाट सम्प्रेषण नभएका पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “यस घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान कार्य सुरु गरिएको छ । उक्त सूचनाको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।”

स्रोतका अनुसार अहिले प्रकरणमा प्रहरीको साइबर ब्युुरोले अनुसन्धान गरिरहेको छ । यसअघि नेपाल–भारत सीमा विवाद चर्चामा आएपछि दुई मुलुकका ह्याकरबीच वेवसाइट ह्याक गर्ने प्रतिष्पर्धा चलेको थियो । यद्यपि, दुवै समूह पछिल्लो समय मौन प्रायः थिए ।

उनीहरुको गतिविधिबारे साइबर ब्युरोलाई खबर भए पनि अनुसन्धान टुंगोमा पुग्न सकेन । जसका कारण यस्ता घटना बारम्बार सार्वजनिक हुने गरेका छन् । साइबर विज्ञहरुले साइबर सुरक्षा प्रणाली मजबुद नहुँदा ह्याकरले सहजै अनाधिकृत पहुँच बनाउँदै आएको बताउने गरेका छन् ।

सम्बन्धित खवर