प्रादेशिक अस्पतालको सुविधा शाखालाइ स्वास्थ्य सामाग्री प्रदान

प्रादेशिक अस्पतालको सुविधा शाखालाइ स्वास्थ्य सामाग्री प्रदान

बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत सामाजिक सेवा एकाई (सुविधा शाखा)लाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । नमूना एकीकृत विकास परिषद् रुपन्देहीको सहयोग र रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको सहकार्यमा उक्त एकाईमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

स्वास्थ्यकर्मीहरुलाई ७ थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई), एन नाइटी फाइभ मास्क , ग्लोब्स र स्यानिटाइजर उपलब्ध गराइएको नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका पूर्व अध्यक्ष जितेन्द्र शर्माले यस्तो परिस्थितिमा स्वास्थ्यकर्मीहरुले सेवा दिदैं आएकाले आवश्यकता अनुसार थप सहयोग गर्दै जाने बताए ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सूर्य प्रसाद भट्टराई, सामाजिक सेवा एकाई प्रमुख नेत्र प्रसाद आचार्य लगायतले बोल्दै कोभिड–१९ को महामारीको समयमा स्वास्थ्यकर्मीले पाएका स्वास्थ्य सामाग्रीले सेवा दिन सहज हुने बताए । उनीहरुले एकाईबाट सेवा प्रवाह सुरक्षित रहने र यो सेवा अतिआवश्यक गरीब विपन्नलाई निःशुल्क उपचार गर्ने स्थान भएकोले कोरोना महामारीको बेला उपचारमा सेवाग्राहीको पहुँच बढाउनुपर्ने बताए ।

कार्यक्रममा एआरटी सेवा प्रमुख रुपलाल पन्थी, पूर्व सामाजिक सेवा एकाई प्रमुख सागर पन्थी, अच्युत भट्टराई, नमुनाका प्रशासन तथा लेखा अधिकृत मोहन कार्की, अनुगमन मूल्यांकन अधिकृत आशिस शाक्य लगायतको उपस्थिति रहेको थियो ।

विपन्न तथा गरीब नागरिकलाई सेवा दिने सामाजिक सेवा एकाईमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री प्रदान गर्ने कार्य प्रशसंनीय रहेको सामाजिक अभियन्ता प्रख्यात बञ्जाडेले बताए ।

नमुना एकीकृत विकास परिषदले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रहेको सामाजिक सेवा एकाईसंग साझेदार संस्थाको रुपमा सहजीकरण गर्दै आएको छ । सामाजिक सेवा एकाईले गरीब, असहाय, जेष्ठ नागरिक, अपांग (क र ख वर्ग मात्र), लैंगिक हिंसा, महिला स्वास्थ्य स्वयंसेविका, कुपोषित बालबालिका, थुनुवा, प्राकृतिक÷दैविक प्रकोप प्रभावित, दुर्घटनामा परि प्रहरीद्वारा ल्याइएका अभिभावकबिहीन घाइते, शहिद परिवार र लोपउन्मुख जातिहरुलाई सेवा दिदैं आएको छ । सेवा लिन चाहने लक्षित समुहरुले आवश्यक कागजपत्र, परिचयपत्र÷कार्ड वा सिफारिस लिएर जानुपर्छ ।

सम्बन्धित खवर