गण्डकी प्रदेशमा थप ४२ जनामा संक्रमण , संक्रमितकाे संख्या २८९ पुग्याे

गण्डकी प्रदेशमा थप ४२ जनामा संक्रमण , संक्रमितकाे  संख्या २८९ पुग्याे

पाेखरा : हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित पुष्टि भएको छ । मनाङको चामे गाउँपालिकाका एक कर्मचारी सहित गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

नवलपुरमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा मुस्ताङ बाहेकका १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । ४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष हुन् । दुई जनाको भने नखुलेको निर्देशक शर्माले जानकारी दिए । यसैगरी नवलपुर कै गैंडाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

तनहुँका १२ संक्रमितमध्ये ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जना छन् । उनीहरु १८ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष हुन् ।

यस्तै गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहिद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ ।

गोरखाकै शहिद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना पुरुष कर्मचारीमाको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा–१४ रहेका हुन् । गण्डकी प्रदेशमा अहिले सम्म २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर