राजेन्द्र महतो, लहान
सिरहाका ६ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेका छन् । सिरहाको धनगढीमाई नगरपालिका ११ स्थित महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालबाट मंगलबार कोरोना सङ्क्रमित ६ जना डिस्चार्ज भएका हुन्।
सिरहाको लहान नगरपालिकाका चारजना, धनगढीमाई नगरपालिका र कल्याणपुर नगरपालिकाका १–१ जना कोरोना जितेर मंगलबार घर फर्किएको अस्पतालका प्रमुख डा. सुभाषचन्द्र मण्डलले बताएका छ्न् । लहानका चारजना रकल्याणपुरका एकजनामा जेठ १७ गते स्वाब संकलनको रिपोर्ट र धनगढीमाई नगरपालिकामा जेठ २१ गतेको स्वाब संकलनको रिपोर्टमा कोरोना भएको पुष्टि भएपछि महेन्द्र गेनाई आइसोलेसन वार्डमा राखिएको डा. मण्डलले बताएका छ्न्। कोरोना जितेका उनीहरू भारतको विभिन्न ठाउँहरुबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए । यस अघि जेठ १७ मा पनि कोरोना जितेका २० जनालाई आइसोलेसन वार्डबाट घर पठाइएको थियो ।
यसैगरी, मंगलवार सिरहामा नयाँ थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा लहान नगरपालिका क्वारेन्टाइनका २ जना रहेका छन्। उनीहरुलाई उपचारका लागि मङ्गलबार नै महेन्द्र गेनाई कोभिड अस्पतालमा ल्याइएको छ। योसँगै सिरहामा कोरोना संक्रमण हुनेको संख्या ७० पुगेको छ।