१७ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि

१७ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि

सन्धिखर्क : अर्घाखाँचीमा एक गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । गर्भवतीसहित अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । पाणिनी गाउँपालिका ८ को क्वारेन्टाइनमा रहेकी १७ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हो। भारतबाट परिवारसहित आएर क्वारेन्टाइनमा बसेकी ती युवती ३ महिनाकी गर्भवती रहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।

करिब डेढ वर्षअघि विवाह भएकी ती युवती भारतको हरियाणमा श्रीमानसँगै बस्दै आएकी थिइन् । गत जेठ १० गते कृष्णनगर नाका हुँदै आएकी उनको आरडिटी परीक्षण पोजिटिभ देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

कलिलो उमेरमै गर्भवती भएकी ती किशोरीको स्वास्थ्यमा खराबी आउन नदिन विशेष ख्याल राखिएको छ ।  उनको स्वास्थ्य अवस्था सामान्य रहेको पाणिनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले बताए । अर्घाखाँचीमा महिलामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।

कोरोना संक्रमित युवती भर्खर १७ वर्ष टेकेकी छिन् । सँगै क्वारेन्टाइनमा रहेका उनका श्रीमानको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको छ।

सम्बन्धित खवर