प्रदेश १ सरकारले स्वास्थ्यमा राजनीति गरेको भन्दै सरकार बिरुद्ध मसाल जुलुस

प्रदेश १ सरकारले स्वास्थ्यमा राजनीति गरेको भन्दै सरकार बिरुद्ध मसाल जुलुस

कुमार खड्का, उर्लाबारी

प्रदेश १ का आर्थिक मामिलामन्त्री ईन्द्र आङ्बो लिम्बूले मोरङको उर्लाबारी–३ स्थित ‘मंगलबारे अस्पताल’लाई ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने घोषणा गरिरहँदा मंगलबारे सो निर्णयको विरोध गर्दै मसाल जुलुश प्रदर्शन भएको छ।
प्रदेशसभामा मन्त्री आङ्बोले त्यसरी घोषणा गरिरहँदा अस्पतालको नाम फेर्ने प्रदेश सरकारको निर्णयविरुद्ध संयुक्त संघर्ष समितिले उर्लाबारी मंगलबारेमा मशाल जुलुस प्रदर्शन गरेका हुन्।

आर्थिक वर्ष २०७७/०७८ को प्रस्तुत बजेटमार्फत् मंगलबारे अस्पताललाई प्रदेशकै गौरवको योजनाअन्तर्गत मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नै राखिने गरी ल्याइएको छ। यसअघि प्रदेश सरकारले नीति तथा कार्यक्रममा अस्पतालको नाम फेर्ने प्रस्ताव ल्याएको थियो।

यता पूर्वघोषित कार्यक्रमअनुसार संघर्ष समितिले सोमबार साँझ मशाल जुलुस प्रदर्शनको प्रयास गरेपनि प्रहरीले नियन्त्रणमा लियो। मशाल जुलुसमा प्रहरी हस्तक्षेप भएपनि जुलुस थापा चोक, सोल्टीपुल छेउ र अस्पताल नजिकबाट एकसाथ निस्केको थियो। करिब पाँच सयको संख्यामा निस्केको र्यालीमा स्वास्थमा राजनीति बन्द गर्न र मंगलबारेको पहिचान नमेट्न माग गर्दै नारा लगाइएको थियो।

र्यालीपछिको कोणसभामा संघर्ष समिती संयोजक वीरबल थापाले नेकपा सरकारले विकासको नाममा राजनीति गरेको आरोप लगाए। साथै, उनले मंगलबारेको पहिचान मेटेर स्थानीयवासीको भावनामा चोट पुर्याउने कार्य नेकपा सरकारले गरेको बताए। उनले सरकार भ्रष्टाचारमा डुब्दै गएको पनि आरोप लगाए।

प्रदेश सरकारले गत २३ जेठमा ल्याएको नीति तथा कार्यक्रममा अस्पतालको नाम फेर्ने प्रस्ताव ल्याएपछि २५ जेठबाट निरन्तर विरोध प्रदर्शन भइरहेको छ। यसैबीच, मंगलबार मंगलबारेबाट उर्लाबारीसम्म र्याली गर्ने कार्यक्रम रहेको संघर्ष समितिका सदस्य सचिव मातृका धिमालले बताए।

समितिमा नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लिम्बुवान मन्चको नगरस्तरीय समिति सहभागी छन्। समितिले यसअघि मुख्यमन्त्री शेरधन राईको पुत्ला दहन गर्नुका साथै मानवसाङ्लोजस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ। यद्यपि, सरकार निर्णय सच्याउने पक्षमा देखिएको छैन्।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेश गर्नुभएको बजेटमा कोरोना विरुद्ध लड्ने र स्वास्थ्य पूर्वाधार विकासका कार्यक्रमहरु बढि मात्रामा समेटिएका छन् । निकै चर्चा र विवादमा रहेको ट्रमा सेन्टरकाको बजेट भने कति हुने भनेर यकिन गरेको छैन् । मंगलबारे अस्पतालको ट्रमा सेन्टरका लागि आवश्यक बजेट मात्रै भनिकएको छ तर कति बजेट भन्ने सरकारले नतोकेको हो ।

सोमबार ट्रमा सेन्टरको नामको विषयलाई लिएर मंगलबारेमा भएको मसाल जुलुसका क्रममा समेत बजेट नतोकेको प्रति स्थानीयहरुले आपती जनाएका छन् ।

 

सम्बन्धित खवर