बागलुङमा दुग्धजन्य वस्तुको मुल्य बढ्यो

बागलुङमा दुग्धजन्य वस्तुको मुल्य बढ्यो

बागलुङ : बागलुङमा दुग्धजन्य वस्तुहरुको मुल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी संघले सोमबारदेखि लागु हुनेगरी दुग्धजन्य पदार्थको मुल्यबृद्धि गरेको हो ।

पशुहार र पशुपालन व्यवसायमा आवश्यक सामग्रीहरुको मुल्य बृद्धि भैरहेको बेला सरकारले गरेको दुधको मुल्य सामायोजनअनुसार २०७२ साल यता बागलुङमा दुधको मुल्य नबढाईएको भन्दै एकै पटक प्रतिलिटर २० रुपैयाँले मुल्य बढाईएको हो ।

किसान र सरोकारवाला निकायबीच भएको छलफलका आधारमा दुग्धजन्य वस्तुको मुल्य वृद्धि गरिएको संघका सदस्य तथा दुग्ध उत्पादक सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले बताए । लामो समय मुल्य नबढेका कारण किसान मर्कामा रहेकाले मुल्य वृद्धि गर्नुपरेको उनको धारणा छ ।

संघले बढाएको मुल्यमा ६६ प्रतिशत किसानले र ३४ प्रतिशत उद्योगले लाभ लिने छन् । नयाँ मुल्यअनुसार खुल्ला दुधको मुल्य १ सय रुपैयाँ कायम भएको छ । यसअघि दुध प्रतिलिटर ८० रुपैयाँमा बिक्रीवितरण हुँदै आएको थियो ।

यस्तै, प्याकेट दुधको मुल्य भने प्रतिप्याकेट ५५ रुपैयाँ कायम गरिएको छ । दहिको मुल्य प्रतिलिटर १ सय २०, पनिर प्रतिकिलो ८ सय, ध्यु प्रतिकिलो १ हजार ३ सय र खुवा प्रतिकिलो एक हजार दुई सय रुपैयाँ मुल्य तोकिएको छ ।

छुर्पि, लस्सी, आईसक्रिम र नौनीमा समेत मुल्य बृद्धि भएको गौतमले बताए । बजारमा मुल्य बढेको भएपनि किसानले भने पत्तो पाएका छैनन् । ‘मुल्य बढेको हल्ला सुनेको छु तर हाम्रो दुधको मुल्य बढ्छ बढ्दैन थाहा छैन्’ बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका किसान बालानन्द कँडेलले भने ‘दानाको मुल्य बढेको छ, धेरै भयो हाम्रो दुधको मुल्य नबढेको ।’

केही समयअघि १ हजार २ सय रुपैयाँमा पाईने ५० किलो दानाको बोरा अहिले २ हजार २ सयमा खरिद गर्नु परेकाले दुधको मुल्य पनि बढ्नु पर्ने उनको धारणा छ । एकै पटक दुधको मुल्य बढेको बिषयमा उपभोक्ताहरुले भने सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् ।

सम्बन्धित खवर