पोखरा नेपाल–यूके फाउन्डेशनले १ सय ५ परिवारलाई खाद्यान्न सहयोग

पोखरा नेपाल–यूके फाउन्डेशनले १ सय ५ परिवारलाई खाद्यान्न सहयोग

पाेखरा : पोखरा नेपाल–यूके फाउन्डेशनले आर्थिक रुपमा विपन्न भएका १ सय ५ परिवारलाई खाद्यान्न वितरण गरेको छ । हेल्पिङ ह्याण्ड्स पोखरा नामक संस्थामार्फत फाउन्डेशनले पोखरा र आसपासका विपन्न परिवारहरुलाई राहत उपलब्ध गराएको हो ।

शुक्रबार भएको राहत वितरण कार्यक्रम अन्तरगत बगर, लामाचौर, दीप, अर्चलबोट, नयाँबजार, कसेरी सुकुम्बासी सिम्पानी, नयाँगल्ली लगाएतका स्थानहरुमा बस्दै आएका विपन्न परिवारहरुलाई राहत वितरण गरेको हेल्पिङ ह्याण्ड्स पोखराका प्रतिनिधि सुनील गुरुङ जानकारी दिए ।

सुनीलसँगै यो अभियानमा हेल्पिङ ह्याण्ड्स पोखराका सौरभ श्रेष्ठ पनि सँगसँगै छन् । यी दुबै जना बगरका स्थायी बासिन्दा हुन् ।
यूकेमा रहेका नेपालीहरुको संस्था पोखरा नेपाल–यूके फाउन्डेशनको तर्फबाट जगत गुरुङ र भीम महेन्द्र गुरुङले खाद्यान्न वितरणका लागि आर्थिक रकम फिल्मकर्मी प्रकाश गुरुङ काशमार्फत पठाएका थिए ।

राहत वितरणको क्रममा प्रकाश गुरुङ काशले पनि विशेष सहयोग गरेका थिए । ‘हामीले फाउन्डेशनको स्थापना विपद्को बेलामा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने गरि नै स्थापना गरेका हौँ ।’ यूकेबाट जगत र भीम महेन्द्रले भने–‘थुप्रै संघसंस्थाहरुमार्फत हामीले सहयोगी हात बढाएका छौँ । र, पछिल्लो पटक हामीले हेल्पिङ ह्याण्ड्स पोखरालाई राहत वितरणका लागि रोजेका हौँ ।’

फरक फरक संस्थाबाट राहत वितरण गर्दा धेरै पीडित वर्गलाई समेट्न सकिने भएकोले आफूहरुले सोही अनुरुप संस्थाहरुसँग सहकार्य गरेको उनीहरुले बताए । राहत स्वरुप खाद्यान्न पाएपछि मजदुर परिवारका थुप्रै सदस्यले फाउन्डेशनलाई धन्यबाद दिएका थिए । विपद्को बेलामा विदेशबाट आफूहरुलाई यस्तो सहयोग गरेको भन्दै फाउन्डेशन र विदेशमा भएका नेपालीहरुलाई उनीहरुले सुस्वास्थ्यको कामना समेत गरेका थिए ।

यसअगाडि फाउन्डेशनले जक्शन डटकम, चलचित्र पत्रकार संघ नेपाल, कास्की, पोखरा साँगीतिक कलाकार संघ, मेरो साथी टिभी र गायक भाइ गुरुङमार्फत सहयोग वितरण गरिसकेको छ । हालसम्म फाउन्डेशनले पोखरा र आसपासका ५ सय ६० परिवारका करिब २ हजार ६ सय जनालाई खाद्यान्न वितरण गरिसकेको छ ।

सम्बन्धित खवर