पोखरा : गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार बिहान प्रदेशका स्याङ्जाका १४ जना पुरुष ,बागलुङका १० जना पुरुष , गोरखाका १० जना पुरुष र नवलपुर बर्दघाट सुस्ता पूर्वकका १२ जना पुरुष ४ जना पुरुष गरी थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
स्याङ्जाको वालिङ् नगरपालिकाका १८ देखि ४९ वर्ष उमेर समुहका १३ जना पुरुष तथा भिरकोट नगरपालिकाका ४५ वर्षीय एक पुरुष, बागलुङको बडीगाड गाउँपालिकाका २२ देखि ५२ वर्ष उमेर समुहका ९ जना पुरुष तथा ढोरपाटन नगरपालिकाका २६ बर्षका पुरुष, गोरखाको पालुङ्टारका १७ वर्षका पुरुष तथा गण्डकी गाउँपालिकाका २० देखि ४३ वर्ष उमेर समुहका ९ जना पुरुष र नवलपुर बर्दघाट सुस्ता पूर्वकका २० देखि ४५ वर्ष उमेर समुहका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले उल्लेख गरेका छन् ।

निर्देशक शर्माका अनुसार संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।
गण्डकी प्रदेशमा हालसम्म बागलुङमा २६ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ३६ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १६ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका २ जना पुरुष र तनहुँका ३ जना पुरुष, गोरखाका ११ जना पुरुष तथा कास्कीका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।