इटहरामा मदन–आश्रित पार्कको निमार्ण कार्य सुरु

इटहरामा मदन–आश्रित पार्कको निमार्ण कार्य सुरु

 

इटहरा : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ इटहरा स्थित डिपु गाँउमा मदन–आश्रित पार्क शिलान्यास भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को मूल प्रवाहा–तत्कालीन नेकपा मालेको जन्मस्थलका रुपमा रहेको डिपु गाँउमा यो ऐतिहासिक पार्क निर्माण गर्न लागिएको हो ।

२०३५ सालमा नेकपा माले स्थापना भएको टेकबहादुर राईको घरलाई केन्द्र बनाएर मदन–आश्रित फाउन्डेसनले ऐतिहासिक पार्क निर्माण सुरु गरेको छ । शुक्रबार नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले पार्कको शिलान्यास गर्नुभएको हो ।

नेपाली कम्युनिस्ट आन्दोलनको मुल प्रवाह–नेकपा मालेको जन्मस्थलको संरक्षण–सर्वधन गरिनु सबै वामपंथीहरुका लागि गौरव भएको नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले बताउनुभयो ।

समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा जुटिरहेको बेला पार्टी यस स्थलको विकासमा लाग्नुपर्ने धारण पनि उहाँले राख्नुभयो । नेता रेग्मीले फाउन्डेसनका पदाधिकारी र निर्माण समितिका सदस्यहरुलाई चुस्त दुरुस्त र पारदर्शी ढङ्गले योजना सञ्चालन गर्न आग्रह पनि गर्नुभयो ।

त्यस्तै नेकपा मोरङका सचिव गणेश उप्रेतीले मदन–आश्रित पार्कलाई अघिल्ला दिनमा समग्र वामपंथी स्कुलका रुपमा विकास गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । नेपालका दुईवटा ठुला कम्युनिस्ट पार्टी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरण पछि नेपालमा शक्तिशाली कम्युनिस्ट पार्टी–नेकपाको निर्माण भएको भन्दै वामपंथी आन्दोलनको विकाससँग जोडिएका ऐतिहासिक स्थलहरुको संरक्षक र विकासमा तीनै तहका सरकारहरु लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

पार्टी एकिकरण पछि दुबै पार्टीको इतिहास, विचार र संगठनको स्वामित्व एकिकृत पार्टीले ग्रहण गरिसकिकाले अब कुनै पनि इतिहास एमाले र माओवादीको नभई सिङ्गो नेकपाको भएको पनि सचिव उप्रेतीले उल्लेख गर्नुभयो ।

रतुवामाई नगरपालीकाकी उपप्रमुख दयन्तादेवी चुडालले पार्र्टी निर्माण गर्ने ऐतिहासिक स्थल र सेल्टरहरु पार्टीले बिर्सिदै गएको भन्दै दुखेसो गर्नुभयो । ढिलै भएपनि पार्टी निर्माणका क्रममा महत्वपूर्ण योगदान दिने टेकबहादुर राईको घरजग्गामा मदन–आश्रित पार्क निर्माण हुनुले यस क्षेत्र र सिङ्गो पार्टीको इतिहासको सम्मान भएको उहाँको भनाई छ ।

पार्क निर्माणका लागि १ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० लाख रुपैया विनियोजन गरेको फाउन्डेसनका अध्यक्ष मेघनाथ शर्मा कट्टेलले जानकारी दिनुभयो । लकडाउनका कारण चैतमा सम्झौता हुन नसकेकाले बाध्यताबस निर्माण कार्य थाल्न ढिलो भएको उहाँले बताउनुभयो ।

उहाँले पार्क निर्माणको इन्जिनियरिङ डिजाइन संक्षिप्त रुपमा प्रस्तुत गर्नुभयो । उहाँका अनुसार सम्मेलन भएको टेकबहादुर राईको घरलाई केन्द्र भागमा राखेर पार्क निर्माण गरिने छ । घरलाई पूर्वगत अवस्थामा सकेसम्म दुरुस्त बनाएर पुनःनिर्माण गरिने छ र यसलाई सङ्ग्राहलयका रुपमा विकास गरिने छ ।

घरको पूर्वपट्टी पार्टी स्थापना स्तम्भ निर्माण गरिने छ । कलात्मक रुपमा निर्माण हुने स्तम्भको माथिल्लो भागमा कम्युनिस्ट पार्टीको पहिचान हसिया हतौडा राखिने छ । त्यसमाथि सधै राष्ट्रिय झण्डा फहराइने छ । स्तम्भ वरिपरी सम्मेलनमा सहभागी २५ जना प्रतिनिधिको चिनारीसहित प्रतिमा राखिने छ ।

पार्कको दक्षिण तर्फ सुविधा सम्पन्न सभाहल निर्माण गरिने छ । पश्च्मि भागमा एक विगाहको क्षेत्रफलमा बाल उद्यान निमार्ण गरिने छ । बक्राह खोलाको किनारतर्फ एकिकृत धार्मिक पार्क निर्माण गरिने छ । यसमा स्थानीय सबै धर्मावलम्बीहरुको अपनत्व र सहभागिता हुने गरी धार्मिक संरचनाहरु निमार्ण गरिने छन् ।

कम्युनिस्ट आन्दोलनको आधार भूमि र इटहराको गौरवका रुपमा रहेको यस पार्कको निमार्णमा तनमनले सहयोग गर्न स्थानीयबासीलाई उहाँले आग्रह गर्नुभयो । निर्माणका क्रममा कुनै पनि किसिमको तलमाथि हुन नदिने भन्दै खुल्ला र पारदर्शी ढङ्गले योजना सञ्चालन गरिनेमा विस्वस्त रहन अध्यक्ष कट्टेलले आग्रह गर्नुभयो ।

सम्बन्धित खवर