वृद्धवृद्धा र अपाङ्गता भएकालाई घरघरमा पुगेर राहत वितरण गर्दै आरम्भ

वृद्धवृद्धा र अपाङ्गता भएकालाई घरघरमा पुगेर राहत वितरण गर्दै आरम्भ

इटहरा : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० का अति विपन्न परिवारई आरम्भ नाट्य डबली कला साहित्य मञ्चले राहत वितरण गरेको छ ।

संस्थाले शुक्रबार घरघरमा पुगेर गरिब वृद्धवृद्धा र शोकमा रहेका परिवारलाई आर्थिकसहित खाद्यान्न सहयोग गरेको संस्थाका सदस्य निशा खड्काले जानकारी दिनुभयो । रतुवामाई १० सातमेडीमा रहेको परिवारमा आर्थिक समस्याका कारण काजक्रियामै समस्या भएको खबर थाहा पाएर परिवारमा केही सहयोग होस भनि घरमै पुगेर राहत वितरण गरिएको पनि खड्काले बताउनुभयो ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनमा गरीब, दलित र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरलाई खानाको निकै समस्या भएको दृष्टिगत गर्दै खाद्यान्न सामाग्री उपलब्ध गराएको अनिश कार्कीले बताउनुभयो । लकडाउनका कारण कोही पनि भोकै बस्न नपरोस् भनेर राहत वितरण गरेको पनि कार्कीले बताउनुभयो ।

आरम्भले प्रतिघर २५ किलो चामल, दुई किलो मटर, दुई किलो चिनी, एक किलो दाल, एक पोका नुन, एक पोका तेल, एक पोका स्वायविन, लुगा धुने र २ वटा साबुन वितरण गरेको नितिक्षा नेपालीले जानकारी दिनुभयो । आफूहरुले शुक्रबार पानीझरीका बाबजुद पनि राहत बोकेर घरघरमै पुगेको सुनाउँदै नेपालीले आफूहरुले यस कार्यलाई निरन्तरता दिइरहने पनि बताउनुभयो ।

वृद्धवृद्धा र अपाङ्गता भएकालाई घरघरमै राहत

बन्दाबन्दीले असहज बनिरहेको अवस्थामा आरम्भ राहत बाँड्न सक्रिय बनेका छ । लामो समयदेखिको बन्दाबन्दीले कष्टकर जीवन व्यतीत गर्न बाध्य बनेका अपाङ्गता भएका व्यक्तिलाई घरघरमै पुगेर आरम्भले राहत प्रदान गर्दै आइरहेको छ ।

आरम्भले शुक्रबार वडा नं १० का अपाङ्गता भएका व्यक्तिका परिवारलाई घरमै पुगेर राहत वितरण गरेको हो । संस्थाका अध्यक्ष समिर सुवेदीले हालसम्म अपाङ्गता भएका र वृद्धवृद्धा गरी ५० परिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।

“अहिलेको अवस्था असहज छ, यसमा पनि अपाङ्गता भएकाहरुको जीवन झन् कष्टकर छ, हामीले सो कुराको मध्यनजर गर्दै घरघरमै पुगेर राहत वितरण गरेका हौँ ।” अध्यक्ष सुवेदीले भन्नुभयो ।

आरम्भले विभिन्न सहयोगीहरुको सहयोग स्थानीय जनप्रतिनिधिसँग सहकार्यमा राहत वितरण गर्दै आइरहेको छ । आरम्भले हालसम्म ५ सय भन्दा बढी परिवारलाई राहत वितरण गरिसकेको छ ।

सम्बन्धित खवर