पथरी, मोरङको पथरी शनिश्चरे नगरले कोरोना भाइरसको संक्रमणबाट जोगिन खडा गरेको प्रारम्भिक स्वास्थ्य सुरक्षाको एकान्तस्थल ‘क्वारेन्टिन’ मा राखेको ४० जनालाई स्थानीय कुटोकोदालो सहकारी संस्थाले आज खाना खुवाउने काम गरेको छ ।
सहकारीका अध्यक्ष एलबी भण्डारीको अगुवाईको समूहले व्यवस्थापन गरेको चामल, दुध, चिनी तथा तरकारी नगर उपप्रमुख यमुना विष्ट वास्तोलामार्फत पथरी बहुमुखी क्याम्पसको ‘क्वारेन्टिन’ मा रहेकाहरुलाई उपलब्ध गराइएको हो । खाद्यान्न सामग्री उपलब्ध गराएपछि उनीहरुलाई खान खुवाउने जिम्मा लिएको क्यान्टिनले खाना बनाएर खुवाएको छ ।
सो अवसरमा संस्थाले नगरका पत्रकारलाई उपलब्ध गराएको १५ थान एननायन्टी फाइभ मास्क नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव सन्तोष राईलाई वास्तोलाले हस्तान्तरण गर्नुभयो ।
भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन नगर कार्यपालिकाको निर्णय अनुरुप नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको व्यवस्थापनमा ‘क्वारेन्टिन’ स्थापना गरिएको हो ।
भारतबाट आएका हालसम्म ४० जना क्याम्पसको ‘क्वारेन्टिन’ मा बसिरहेका छन् । त्यस बाहेक नगरकै निगरानीमा ६ जना होम क्वारेन्टिनमा, २ जना कानेपोखरी गाउँपालिका फिर्ता र १ जना क्षयरोगका विरामी भएकाले उपचारका लागि धरान पठाइएको छ ।
‘क्वारेन्टिन’ का लागि पथरी अस्पतालले १०, कावेली अस्पतालले १०, मोरङ अस्पतालले ६, सुदिप मेडिकलले ४ वटा बेड प्रदान गरेको छ । अन्य बेड नगर अस्पताल र नगरपालिकाको समन्वय समितिले व्यवस्थापन गरेको छ ।