कोरोना भाइरस देवी देवताको रुप हो भन्दै महिलाहरु पुजा गर्न थाले

कोरोना भाइरस देवी देवताको रुप हो भन्दै महिलाहरु पुजा गर्न थाले

राजेन्द्र महतो, लहान

लकडाउनमा घरबाट बाहिर निस्कन नहुने अवस्था रहँदा पनि त्यसलाई चुनौती दिँदै पैदलयात्रा गरी सिरहाका जलाशय तथा मन्दिरमा महिलाको भीडभाड बढ्न थालेको छ । सिरहाका विभिन्न गाउँ टोलबाट हुलका हुल महिलाहरु जिल्लाका प्रमुख नदी कमला, बलान नदी तथा विभिन्न मन्दिरमा कोरोना भाइरसलाई देवी देवताको रुपमा लिँदै पूजापाठ गर्न पुग्ने गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने र मुखमा मास्क लगाउनुपर्ने बिज्ञहरुले सुझाब दिईरहँदा महिलाहरु अन्धविश्वासलाई पच्छ्ययाउँदै हुल बनाएर कोरोना भाइरसलाई देवी देवताको रुपमा लिँदै पूजाआजा गरिरहेका हुन् ।

नदी तलाउ र मन्दिरमा पुगेर देवीदेवताको पूजाआजा गरिए कोरोना भाइरस समाप्त हुने हल्लै हल्लाका भरमा गाउँगाउँका महिला समूह बनाएर पूजा गर्न जिल्लास्थित प्रमुख नदी तथा जलाशयस्थलमा पुगेर पूजाआजा गर्ने गरेका स्थानीयवासीले बताएका छन् ।

महिला नयाँ लुगा लगाइ डालामा लड्डुु, केरा, पान, सुपारी, दही, चिउरा, अगरबत्ती लगायतका पूजा सामग्री राखेर कमला नदी, बलान खोला तथा गाउँको सिमाना वा खुला ठाउँमा गई पूजाआजा गर्ने लहर चलेको बताइएको छ।

देवी देवता रिसाएकाले संसारभर कोरोना कहर बढेकाले देवीलाई खुशी पार्न भन्दै गाउँ गाउँका महिला जलाशय तथा मन्दिरमा पूजा गर्न पुग्ने गरेका छन् । कोरोनालाई देवी मानेर पूजाआजा गरेपछि कोरोना नआउने हल्ला अनुसार नै महिलाले पूजाआजा गर्ने गरेको उनिहरुले बताएका छन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज कुमा गुरागाईंले प्रहरी प्रशासनले रोक्ने प्रयास गरे पनि चेतनाको अभावमा महिला लुकीछिपी नदी नाला र मन्दिर पुग्ने गरेको बताउदै पूजापाठका नाममा हुने गरेको महिलाको भीडभाडलाई रोक्न समाजका सबै पक्षको सहयोग जरुरी रहेको बताएका छ्न्।

चीनको बुहानबाट सुरु भएको कोरोना भाईरसको प्रकोप अहिले विश्वव्यापी रुपमा फैलिएको छ । यसबाट विश्वमा साढे तीन लाख भन्दा वढिको ज्यान जानुका साथै लाखौ मानिस प्रभावित भएका छन् ।

सम्बन्धित खवर