काठमाडौं : दुई सातासम्म क्वारेन्टिनमा बसेर घर फर्केका सुर्खेतका एक युवकको आज बिहान मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका बीस वर्षीय युवाको बिहान करीब २ बजे मृत्यु भएको हो ।
क्वारेन्टिनमा दुई साता बसेपछि आठ घण्टा पैदल हिँडेर उनी गाउँमा पुगेका थिए । घरमा नबसी नजिकैको एक सामुदायिक भवनमा बसेका उनको विहान मृत्यु भएको हो ।
मृतक युवाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । स्वाब परीक्षण रिपोर्ट आएपछि अन्त्येष्टि गरिने बताइएको छ । भारतको बम्बईमा मजदुरी गर्दै आएका उनी जेठ पहिलो साता नेपाल फर्किएका थिए ।
घर फर्किएपछि उनी १५ दिनसम्म स्थानीय जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । बुधबार आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी साथीहरुसँग घर फर्किएका थिए ।