सिन्धुली – चालु आर्थिक बर्ष सकिन एक महिना बाँकी रहदा सिन्धुलीको फिक्कल गाँउपालिकाले बिकास निर्माणका कामलाई तीब्रता दिन थालेको छ ।
कोरोना भा ईरसको त्रासका कारण लकडाउन घोषणासँगै रोकिएको विकास निर्माणका कामलाई पछिल्लो समय समाजिक दुरी कायम गर्दै तीब्रता दिएको गाँउपालिकाले जनाएको छ ।
कोभिड १९ का कारण रोजगारी गुमाएर घर फर्किएकाहरुलाइ पहिलो प्राथमिकता दिएर विकास निर्माणको काममा लगाएको गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार भारत तथा तेस्रो मुलुक र स्वदेशकै बिभिन्न शहरहरुमा रोजगारी गुमाएर गाउको घर फर्किएकाहरुलाइ प्राथमिकताका साथ विकास निर्माणको काममा लगाईएको छ ।
गाँउपालिकाका अनुसार ६ वटै वडामा गरी झण्डै २५० वटा विकास निर्माणका योजनाको सम्झौता भएर अहिले काम भैरहेका छ । सम्झौता भएका योजनामध्ये ७० प्रतिसत योजनाको निर्माण कार्य समेत सम्पन्न भई सकेको छ । अधिकांस योजना सडक निर्माण, सिंचाई, सामुदायिक भवन लगायतको रहेका छन् ।
गाँउपालिका उपाध्यक्ष पार्वती सुनुवारले यतिखेर फिक्कलमा स्थानीय स्रोत साधनको उपयोग गरी बढिमात्रामा सडकको काम भैरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पर्यटकियस्थल फिक्कल पुग्ने सडकमा ढुङ्गा छाप्ने, मन्दिर सरसफाइ, गोरेटोबाटो, सिंचाइ कुलो सफाइ, बाध निर्माण, सामुदायिक भवन निर्माण लगाएतका काममा रोजगारी माग्न आउनेलाइ दक्षता हेरेर जोडाइएको छ ।’
बन्दाबन्दीबीच पनि स्वास्थ्य सुरक्षा र भौतिक दुरी कायम गरी विकास निर्माण कार्यलाई जारी राखिएको उपाध्यक्ष सुनुवारले जानकारी दिनुभयो । एकसय ५० भन्दा बढि यूवाहरुलाइ विकास निर्माणमा काम दिइएको भएपनि कलकारखाना र उद्योग धन्दा, नभएकाले दीर्घकालिन रोजगार नहुने उहाको भनाइ थियो ।
वडा नं. १ महादेवडाँडाका अध्यक्ष खड्ग ठटाल सोखु सालुके सडकमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ढुङगा बिच्छ्याउने काम भई रहेको बताउनुहुन्छ । उक्त वडामा सडक, खानेपानी, सिंचाई, सामुदायिक भवन, विद्यालय भवन लगायतका ३५ वटा योजना रहेको र सबैको काम सकिन लागेको उहाँले बताउनुभयो ।