जेठ २५ भित्र कर तिर्ने ताकेता फिर्ता लेउ, समयावधि थप गर : देउवा

जेठ २५ भित्र कर तिर्ने ताकेता फिर्ता लेउ, समयावधि थप गर : देउवा

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही जेठ २५ गतेभित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले जेठ २५ भित्र विभिन्न कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प नभएको बताएका छन् । लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीलाई राहत दिनुको सट्टा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको देउवाले आरोप लगाए ।

आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको छ । नभए जरिवाना लाग्ने उसले बताएको थियो । यसको व्यवसायीहरूले विरोध गरेका छन् । सरकारलाई समयको गम्भीरताप्रति गम्भीर बन्न माग गर्दै, लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याकंन गरेर कार्य गर्न सरकारसँग अपिल गरेका छन् ।

देउवाले जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गरेर स्थिति मूल्यांकनका साथ संवाद मार्फत समयावधि थप गर्न सरकार समक्ष माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘साना-ठूला ब्यवसायीले लक डाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर आन्तरिक राजस्व विभाग मार्फत नेपाल सरकारले जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न गरेको ताकेताप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ ।’ ब्यवसायिहरुले भोग्नु परेको ब्यवसायिक जटिलतालाई सहजीकरण गर्न आवश्यक नीति निर्माण गर्ने र राहतको विविध योजना ल्याउने दायित्व सरकारको भएको देउवाले बताएका छन् ।

प्रतिपक्षको पटकपटकको आग्रहका बाबजुद राहतको न्यायोचित प्रबन्ध गर्न सरकार उदासिन भएको उनले बताए । विज्ञप्तिमा भनिएको छ, ‘लकडाउन भएको अढाई महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिकाबीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेरपनि बुझपचाउनु र नागरिकको पिडाप्रति असंवेदनशील बन्नु हो ।’

कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन मितब्ययिताका लागि गर्नुपर्ने एवं गर्न सकिने निर्णय र कार्यमा सरकार गम्भीर नभएको उनको भनाई छ । लकडाउन जारी रहेकै बेला कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार होइन दायित्व र संवेदना बिहीन रहेको पुष्टि भएको देउवाको भनाई छ ।

सम्बन्धित खवर