नेकपाद्वारा रुकुम घटनाको विषयमा सरकारको ध्यानाकर्षण

नेकपाद्वारा रुकुम घटनाको विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं – अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर रुकुममा भएको हत्या घटनाको ११ दिनपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाले  आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ ।

पार्टी महासचिव विष्णु पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा रुकुम पश्चिममा भएको घटनाले पार्टीलाई गम्भीर र चिन्तित तुल्याएको उल्लेख छ । ‘उक्त विभत्स, त्रासदीपूर्ण र आपराधिक कुकृत्यको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

संवैधानिक र कानुनी हिसाबले अग्रगामी परिवर्तन र उपलब्धिहरू हुँदाहुँदै पनि व्यवहारमा अझै पनि दलित समुदायमाथि विभेद र हिंसाका घटना देखापर्नु गम्भीर चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।

‘यसले हामीलाई राजनीतिक रुपमा प्राप्त उपलब्धीहरूलाई हेरेर सन्तुष्ट नहुन र सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घच्घच्याइरहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

महासचिव पौडेलले उत्पीडित दलित समुदायमाथि हुँदै आएको छुवाछुतको कुप्रथालाई जरैदेखि उन्मूलन गर्ने अभियानमा सामेल हुन सबैमा आह्वान गरेका छन् ।

सम्बन्धित खवर