क्वारेन्टाइनमा रहेका युवा नदीमा वेपत्ता

क्वारेन्टाइनमा रहेका युवा नदीमा वेपत्ता

बेनी : म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङस्थित क्वारेन्टाइनमा रहेका एक युवा मंगलबार दिउँसो नदीमा बेपत्ता भएका छन् ।  दरवाङको छ्यारछ्यारेमा मालिका गाउँपालिकाको क्वारेन्टाइनमा रहेका धौलागिरी गाउँपालिका -७ धारापानीका १९ वर्षीय राजेश थापा वेपत्ता भएको प्रहरीले जनाएको छ ।

दरवाङका वडा अध्यक्ष सन्तोष सुवेदीका अनुसार थापासहित क्वारेन्टाइनमा बसेका ७ जना नुहाउनका लागि दश मिनेटको समय लिएर नजिकै रहेको म्याग्दी नदी किनारको धारामा गएका थिए ।

उनी पौडी खेल्ने भन्दै खोलामा हाम फालेका थिए । म्याग्दीका डीएसपी किरन्ज कुँवरले थापा वेपत्ता भएको पुष्टि गरे । ‘मान्छे वेपत्ता भएको हो,’ उनले भने, ‘दुर्घटना हो वा भागेको भन्ने विषयमा अनुसन्धान जारी छ ।’ प्रहरी र स्थानीयबासीहरुले वेपत्ताको खोजी गरिरहेका छन् ।

थापाका आफन्तले भने कमजोर सुरक्षा र व्यवस्थापकीय लापरबाही भएको आरोप लगाएका छन् । ‘क्वारेन्टाइनमा बस्नेको सुरक्षाको ग्यारेन्टि हुनुपर्दथ्यो,’ राजेशका दाजु किरन थापाले भने, ‘क्वारेन्टाइनमा बसेकालाई बाहिर निस्कन दिनुनै कमजोरी हो ।’

क्वारेन्टाइन स्थापना भएको जनप्रिय माविको भवनमा घेराबार छैन् । थापा छ महिनाअघि रोजगारीका लागि भारत गएका थिए । कोरोनाको जोखिम र लकडाउनका कारण रोजीरोटी गुमेपछि भारतीय सिमानामा आएका उनलाई उद्धार गरेर बेनी ल्याइएको थियो।

छयारछ्यारेको क्वारेन्टाइनमा मालिका गाउँपालिकाका १७ र धवलागिरिका एकजनालाई राखिएको छ। पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र म्याग्दीको निर्णयअनुसार दरवाङको क्वारेन्टाइनमा सारिएको थियो ।म्याग्दीमा हाल भारतबाट आएका १२२ जनालाई विभिन्न ठाउँको क्वारेन्टाइनमा राखिएको छ ।

सम्बन्धित खवर