मुग्लिन : ढुङ्ग्रे गाउँ पहिलोपटक सडक सञ्जालले जोडिएको छ । चितवनको विकटमा रहेको साविकको चण्डिभञ्ज्याङ गाविस भवन भएको सो गाउँमा एघार वर्षको प्रयासपछि सडक पुगेको हो ।
कोरोना कहरकैबीच पनि निर्माण कार्यलाई निरन्तरता दिई गाउँमा सडक पु¥याउन सफल भएको स्थानीयवासी यामबहादुर गुरुङले जानकारी दिनुभयो ।
गाउँमा सकड पुगेपछि अन्य विकासका पूर्वाधारले पनि गति लिने उहाँको विश्वास छ । उहाँले भन्नुयो, “एघार वर्षपछिको प्रयासपछि बल्ल गाउँलाई सडक सञ्जालले जोड्न सफल भएको छ, सडकले गाउँलाई जोडेसँगै छिट्टै विद्युत् पनि आउँदैछ अनि अन्य विकासका कामले पनि गति लिने आशा पलाएको छ ।’’
विसं २०६६ तिर तत्कालीन चण्डिभञ्ज्याङ गाविसको करिब रु तीन लाख बजेटबाट गाविसको केन्द्रसम्म सडक पु¥याउने लक्ष्यका साथ निर्माण शुरु गरिएको उक्त सडक निर्माण शुरु गरेको झण्डै ११ वर्षपछि र राज्य पुनःसंरचनासहित स्थानीय तह गठन भएको तीन वर्षपछि बल्ल सडक पुगेको हो ।
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका–६ जलबिरेबाट २०६६ सालमा निर्माण शुरु गरिएको सो सडक निर्माणका लागि विभिन्न निकायले करौडौँ रुपैयाँ लगानी गरिएको छ । जलबिरेदेखि याकराङ, चनौटे, मस्राङ, ढाला, पाङ्गडे हुँदै साविकको चण्डिभञ्ज्याङ गाविसको केन्द्र रहेको स्थानसम्म पु¥याउने लक्ष्यका साथ सो सडक निर्माण कार्य शुरु गरिएको थियो । तत्कालीन समयको चण्डिभञ्ज्याङ गाविस, जिल्ला विकास समिति चितवन र सांसद कृष्णभक्त पोखरेलमार्फत सांसद विकास कोषको लगानीमा सडक निर्माण कार्य शुरु भएको थियो । यस्तै सो सडक निर्माणमा हालको इच्छाकामना गाउँपालिका, वाग्मती प्रदेश र केन्द्र सरकारले समेत बजेट विनियोजन गरी करौडाँै रुपैयाँ लगानी गरेको छ ।
गत आवमा ढालासम्म पुगेको सडक पछिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरिदिएपछि अहिले उक्त स्थानमा सडक पुगेको हो । सो रकमले हाल करिब तीन हजार मिटर नयाँ ट्र्याक निर्माण गरिने भौतिक पूर्वाधार विकास कार्यालय भरतपुरका इन्जिनीयर नवीन अधिकारीले जानकारी दिनुभयो । प्रदेश सरकारले उपलब्ध गराएको बजेट रकम भौतिक पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का पारेर शाश्वत कन्स्ट्रक्सन हेटौँडाले अहिले उक्त सडकको नयाँ ट्र्याक खोल्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
सो स्थानमा सडक पु¥याउने आफ्नो सपना पूरा भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो । अब उक्त सडकलाई तुन्तेस हुँदै इच्छाकामना मन्दिर र ढुङ्ग्रे हुँदै चितवनको पुरानो सदरमुकाम उपर्दाङगढी जोडिने उहाँले बताउनुभयो ।
देश सङ्घीय संरचनामा जाँदा चितवनको तत्कालीन चारवटा पहाडी गाविस चण्डिभञ्ज्याङ, दारेचोक, काउले र दाहाखानीलाई गाभेर इच्छाकामना गाउँपालिका निर्माण गरिएको थियो । साथै तत्कालीन समयमा गाउँपालिकाको केन्द्र तत्कालका लागि चण्डिभञ्ज्याङ गाविसको सोही स्थानलाई तोकिएको थियो । तर स्थानीय तहको निर्वाचनपश्चात् निर्वाचित जनप्रतिनिधिले चण्डिभञ्ज्याङमा सडक, बत्तीलगायतका आवश्यक पूर्वाधार नभएको भन्दै ६ महिनामै साविकको दारेचोक गाविस हालको इच्छाकामना गाउँपालिका कार्यालय रहेको स्थान कुरिनटारमा केन्द्र सारेका थिए । त्यस कारण पनि विगतदेखि नै विकासमा पछि परेको साविकको चण्डिभञ्ज्याङ झन पछि परेको थियो । अझै पनि साविक चण्डिभञ्ज्याङ गाविसका अधिकांश स्थानमा विद्युत् सडकजस्ता विकासका पूर्वाधार पुग्न सकेको छैन ।
विशेष गरेर सडक सञ्जालले जोडिएसँगै यहाँका स्थानीय किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान सहज हुने भएको छ ।