कालीकातुदी ज्वाइन्ट भेन्चरले समय भित्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवे पिचको काम समय मै सकेको छ । त्रिभुवनअन्तराट्रिय विमानस्थल अन्तर्गत हालको रनवे दक्षिणतर्फको विस्तारको पिचको काम हिजो सकिएको हो ।
अन्तराट्रिय हवाई नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार आवश्यक हवाई सुरक्षाको निम्ति हालको रनवे विस्तारको काम भइरहेको छ । हाल रनवेको कुल लम्बाई ३ हजार ५० मिटर रहेको छ । अब थप ३ सय मिटर विस्तार भएको छ ।
रनवेको अन्तिममा आवश्यक सुरक्षा क्षेत्रको लागि यो विस्तार अत्यावश्यक रहेको थिाय । रनवेको लम्बाइ थपिएपछि हवाईजहाज उडान गर्दा थप लम्बाई प्राप्त हुने भएकाले हवाई सुरक्षा बढाउने काम गर्दछ ।
हालको निर्माण कार्य नेपाली ठेकेदार कालीकातुदी ज्वाइन्ट भेन्चरले गर्दै आइरहेको छ । कालीकातुदीसंगै एवान विल्डर्स प्रालीले सिभिलको उपठेकेदारको रुपमा काम गर्दै आइरहेको छ ।
कोरोना भाइरसले सम्पूर्ण देश बन्दाबन्दी भएको अवस्थामा समेत रनवे विस्तार हुन सक्नु राम्रो पक्ष रहेको हो । अहिलेको निर्माण कार्य पुरानो धावनमार्गसँगै जोड्नुपर्ने भएकोले उडानहरु बन्द गरेर मात्र गर्न सकिने ठेकेदार कम्पनीले जनाएको छ । हाल उडानहरु बन्द रहेकाले यहि समयमा ठेकेदार कम्पनीले निर्माणको काम सक्ने योजना बनाएको हो ।
कोरोना महामारीका बिच पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं मन्त्रि योगेश भट्टराई, सचिव केदारबाबु अधिकारी, प्राधिकरण कार्यकारी निर्देशक राजन पोखरेल र आयोजना प्रमुख इन्जिनियर मुरारी भण्डारीको बारम्बारको निर्माणस्थल अवलोकन निर्माण सामाग्री उपलब्ध गराउन सहजिकरण भएकाले पनि समयमा नै निर्माणको काम सकिएको निर्माण कम्पनीका जसमान तामाङले बताउनुभयो ।
पिचको काम सकिएकाले अब रनवेमा लाइट राख्ने काम बाँकी रहेको छ । लाइटको सामाग्री युरोपबाट ढुवानी गर्नुपर्ने भएकाले ढिला भएको जनाइएको छ । लाइट ढुवानी भएको २ महिना भित्रमा काम सक्नेगरी अन्य कामहरु भइरहेको ठेकेदार प्रतिनिधी इन्जिनियर काशीनाथ डोटेलले बताउनुभयो ।
सन् २०१३ बाट सुरु भएको उक्त विस्तार कार्य विभिन्न ठेक्का सम्झौता हुदै र तोडिदै आएकोमा हाल नेपाली ठेकेदारले ठेक्का अवधिभित्रै विस्तारको मुख्य काम सकेको हो । यस अघिका दुई अन्तराष्ट्रिय कम्पनिले नसकेको काम नेपाली ठेकेदारले सक्नुले नेपाली निर्माण व्यवसायीको स्तर वृद्धि भएको पाइएको हो । सबै क्षेत्रमा अन्तराष्टिय ठेक्का गर्दा मात्र राम्रो हुने सोचलाई परिवर्तन गरेर राम्रो सहकार्यमा स्वदेशी निर्माण कम्पनीलाई जिम्मा दिएमा स्वदेशी संस्थाले नै आफ्नो देश बिकास गर्न सकिने निर्माण कम्पनीले जनाएको छ ।